दशैं र तिहारमा काठमाडौंमा हुने भिडको मौका छोपेर पाकेमारी गर्न भारतबाटै युवती पाकेटमारको समूह काठमाडौं आएको प्रहरीले जनाएको छ।
गएको शुक्रबार काठमाडौंको बिशालबजार क्षेत्रबाट भारतीय नागरिक औजिखा खातुन पक्राउ परिन्।
महानगरीय प्रहरी वृत्त जनसेवाको टोलीले खातुनलाई बिशालबजार पछाडिबाट पाकेटर गरिरहेको बेला पक्राउ गरेको हो।
एक युवतीको रकम पाकेटमारी गर्दै गरेका बेला पक्राउ परेकी उनीमाथि प्रहरीले अनुसन्धान थालेको थियो।
दशैं तिहार जस्ता चाड पर्वमा पाकेटमारी गर्नकै लागि भारतीय युवतीको समूह काठमाडौं आएको खातुनको बयानबाट खुलेको प्रहरीले जनाएको छ।
पक्राउ परेकी खातुनलाई प्रहरीले थुनामा राखि थप अनुसन्धान अघि बढाएको छ। उनीसँगै आएका अन्य युवतीको खोजी भइरहेको प्रहरीले जनाएको छ।
पाकेटमारी युवतीको अर्को समूह
गएको बिहीबार काठमाडौंको मच्छिन्द्रबहालस्थित एक ब्यक्तिको पाकेटमारी गर्दै गरेकी ३५ वर्षीय सृजना विकलाई प्रहरीले पक्राउ गर्यो।
एक युवतीको ५५ हजार रुपैयाँ पाकेटमारी गरी भाग्दै गरेका बेला प्रहरीले उनलाई पक्राउ गरेको थियो।
महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको टोलीले विकलाई पक्राउ गरी कार्यालयमा ल्याएर सोधपुछ गर्यो, अनि पत्ता लाग्यो उनी पाकेटमार युवती समूहको नाईके रहिछन्।
यसअघि उनलाई प्रहरीले गौशालाबाट पाकेट मार्दै गरेका बेला पक्राउ गरेको थियो। त्योभन्दा अगाडि उनलाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको थियो।
‘विक पटके पाकेटमार हुन्,’ महानगरीय प्रहरी वृत्त जनसेवाका प्रमुख डिएसपी टेकुनन्द लिम्बुले सेतोपाटीसँग भने, ‘हामी उनको पुरानो रेकर्ड हेर्दैछौ, उनी पटके पाकेटमार हुन्, उनका अन्य सदस्य पनि रहेछन्।’
विकले ६ देखि ७ जना युवतीको समूह बनाएर राजधानीको गौशाला, नयाँबसपार्क, चावहिल, न्युरोडलगायतका ब्यस्त क्षेत्रमा पाकेटमारी गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।
प्रहरीका अनुसार विक ब्यस्त तथा मानिसको बढी भिड हुने स्थानमा घरेलु कामदार महिलाको रूपमा जान्छिन्।
सामानहरु हेर्ने किनेजस्तो गर्ने र पैसावाल महिला पत्ता लगाएपछि पछि लागरेर आफूलाई पायक पर्ने स्थानमा पुगेर पाकेटमार्ने गरेको प्रहरी अनुसन्धानले देखाएको छ।
‘समाजमा पाकेटमार गर्ने पुरूष ब्यक्ति हुन्छ भनेर मानिसहरू पुरुषमा शंका गर्छन्, तर महिलालाई शंका नगर्ने भएका कारण विक ग्याङको पाकेटमारी फस्टाएको हो,’ प्रहरीले भन्यो।
प्रहरी थुनामा रहेकी पाकेटमार विकले आफ्नो ग्याङ भएको र अहिले सबैजना साइट लागिसकेको बताइन्।
प्रहरीका अनुसार किनमेल हुने स्थानमा बच्चा बोकेका महिला विकको पहिलो निसानामा पर्ने गर्छन्।
बच्चा बोकेका महिलालाई किनमेल गर्दा सहयोग गरेको जस्तो गर्ने, नजिकीने र उनीहरुले कहाँबाट पैसा निकाल्छन् याद गर्ने र पाकेटमारी गर्ने गरेको खुलेको हो।
प्रहरीले गएको एक सातामा मात्र ७२ जना पाकेटमारलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होमेन्द्र बोगटीले जानकारी दिए।
पाकेटमारी र चोरी नियन्त्रणमाः प्रहरी
महानगरीय प्रहरी परिसर काठमाडौंले चोरी, लुटपाट तथा पाकेटमारीका घटना शून्यमा झरेको दाबी गरेको छ।
काठमाडौं प्रहरीले गएको एक सातामा ७२ जना पाकेटमारलाई पक्राउ गरेको छ। भने त्यतिनै चोरलाई पनि पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होमेन्द्र बोगटीले सेतोपाटीलाई जानकारी दिए।
सेतोपाटीसँग कुरा गर्दै उनले भने, ‘हामी चोरी तथा पाकेटमारी नियन्त्रण गर्न सफल भएका छौ, यसलाई कायम राख्ने छौं।’