१३ वर्षीया निर्मला पन्तको घटनामा अनुसन्धान गर्न गठित छानबिन समितिले निलम्बित प्रहरी अघिकृतहरूको बयान लिएको छ।
प्रहरी प्रधान कार्यालयले डिआइजी धिरु बस्नेतको नेतृत्वमा गठन छानबिन समितिले बयान लिएको हो।
सोमबार एक एसपी, दुई डिएसपीलगायतको बयान लिएको प्रहरी स्रोतले जानकारी दिएको छ।
एसपी डिल्लीराज विष्ट, डिएसपी ज्ञानबहादुर सेटी, डिएसपी अंगुर जिसी, प्रहरी निरीक्षक जगदीश भट्ट, एकेन्द्र खड्का, प्रहरी सहायक निरीक्षक रमासिंह धामीको बयान लिएको हो।
त्यस्तै, समितिले घटनामा संलग्न अन्य प्रहरी अघिकृतलाई समेत काठमाडौं झिकाएको छ।
समितिले अनुसन्धानको लागि १६ जना प्रहरीलाई काठमाडौं बोलाएको हो।
सरकारले कञ्चनपुर घटना विवादस्पद बन्दै गएपछि भदौ ७ मा कारागार व्यवस्थापन विभागका महानिर्देशक सह-सचिव हरि मैनालीको नेतृत्वमा पाँच सदस्य छानबिन समिति गठन गरेको थियो।
समितिको सिफारिसमा गृहमन्त्रालयले एसपी डिल्लीराज विष्टलाई भदौ ९ गते र बाँकी पाँच जनालाई गत शनिबार निलम्बन गरेको थियो।