करौडौं मूल्यको जग्गा किर्ते गरेर बेचेको आरोपमा मालपोत अधिकृतसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ।
चन्दनकृष्ण कायस्थको बूढानिलकण्ठमा रहेको घडेरी किर्ते गरेर बेचेको आरोपमा मालपोत कार्यालय चाबहिलका ४ कर्मचारी मंगलबार पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा मालपोत अधिकृत खगेन्द्र अर्याल, नासुहरू रघुनाथ तिमल्सिना, रञ्जनकुमार खरेल र जमुनाकुमारी श्रेष्ठ छन् । महानगरीय प्रहरी वृत्त गौशालाका डिएसपी सुनील मल्लले अधिकृतसहित ४ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अघि बढाइएको जानकारी दिए।
ललितपुरको हात्तीवनका चन्दनकृष्ण कायस्थको बुढानिलकण्ठमा रहेको २ रोपनी ८ आना जग्गा मालपोतका कर्मचारीको मिलेमतोमा कीर्ते गरी बेचबिखन भएको थियो।
उक्त जग्गा ६ करोड रूपैयाँमा बेचेको बताइएको छ।
यसअघि प्रहरीले जग्गा किनबेचमा संलग्न तीन जनालाई हिरासतमा लिएर अनुसन्धान थालेको थियो।
कायस्थको जग्गा किन्ने श्रीकृष्ण देवकोटा र ध्रुवप्रसाद भट्टराई तथा जग्गाको वारेसनामा लिने प्रदीप गौतम पनि प्रहरीले नियन्त्रणमा लिएको छ।