पूर्णिमाको रात। टहटह जुन। परम्परागत पहिरनमा सजिएका गाउँले। बेलाबेलामा मट्टीतेल छर्केर ह्वारह्वार्ती बलिरहेका दाउरा। एकछिनमा सुरू भयो तिब्बती धुन। स्थानीय महिलाहरू सूदुरपश्चिममा देउडा नाचेजस्तो गरी गोडाको चाल मिलाएर गोल घेरामा नाच्न थाले।
केहीबेरपछि लाउडस्पिकरमा बज्यो, नेपाली गीत- रूपै मोहनी नारायण रूपै मोहनी...।
गीत बज्दै थियो। पर्खालमा राखेको लाउडस्पिकर एक्कासी खस्यो। सोझै मकैबारी पुग्यो। मकैबारीमा पुगे पनि गीत बज्न रोकिएन।
एकजना नेपाली पत्रकारले ठट्टा गरे- देख्नुभयो, चाइनिजले आफूले प्रयोग गर्ने सामान कति बलिया बनाउँदा रहेछन। मकैबारीमा पुगे पनि गीत बजिरहेको छ। 'मेड इन चाइना आज छ भोलि छैन' वाला सामान त हामीले मात्र किन्दा रहेछौं।
त्यो पूर्णिमाको रात हामी चीनको दक्षिण पश्चिमी प्रान्त सिचुवानको राजधानी छेङ्दुदेखि २१० किलोमिटर टाढा पाओसिङ काउन्टीको हिमाली पहाडी गाउँमा थियौं। पछिल्लो समय होमस्टे सञ्चालन गरेर त्यहाँका गाउँले गरिबीको जन्जालबाट उम्किएका थिए। आफ्नो गाउँ आएका टाढाका पाहुनालाई उनीहरूले न्यानो स्वागत गरे। र आफूहरू कसरी गरिबीको दलदलबाट होमस्टे व्यवसायमा लागेर धनी बन्यौं भन्ने कथा सुनाए।
दुबैतिर भिरालो पहाड। बीचमा नदी। गाउँको भौगोलिक अवस्था नेपालका गाउँको जस्तै छ। भौगोलिक अवस्थामात्र होइन यसको कथा पनि नेपालका गाउँसँगै मिल्छ। जसरी २०७२ वैशाख १२ को भूकम्पले हाम्रा धेरै गाउँका घर भत्काइदियो त्यसैगरी सन् २०१३ अप्रिल २० मा यो गाउँका घर पनि भूकम्पले हल्लाइदिएको थियो। उनीहरूले त झन् त्यसअघि सन् २००८ मा पनि भूकम्प झेलेका थिए।
२०१३ को भूकम्पपछि हो, यो गाउँको मूहार फेरिएको।
गाउँका प्रमुख ली त आनले दिएको जानकारीअनुसार सात रेक्टर स्केलको भूकम्पले गाउँछेउमा पहिरो गयो। सबैका घर भत्किए। कैंयौ रात गाउँलेले ढुंगामा सुतेर बिताए। पालमूनि सुत्ने गाउँलेको आय राम्रो थिएन तर मन भने सहरका जस्ता पक्की घर बनाउने थियो।
भूकम्पको केही दिनपछि सरकारी र संस्थाका मान्छे आए।
'उनीहरूले पहिलाकै जस्तै घर बनाउनु पर्छ। आफूमात्र बस्ने होइन पर्यटक पनि ल्याउनेभन्दा सुरूमा गाउँलेले रूचाएनन्। डिजाइन बनाएर देखाएपछि सबैले हुन्छ भने,' आनले भने।
गाउँ पुनर्निर्माणमा सरकारले सहयोग गर्यो। तीस हजार युआन ( झन्डै पाँच लाख रूपैयाँ) अनुदान दियो। त्यसमा चाइना फाउन्डेसन फर पोभर्टी एलिभेसनले १० हजार युआन थप्यो। त्यतिले नपुगेपछि सरकारले सहुलियत ऋण पनि दियो।
घर बनाउँदा गाउँलेले सत्तरी वर्ष पुरानो घरलाई आधार माने। तल्लो तलामा ढुंगामाटो अनि माथिल्लो तलाको बाहिरपट्टी बाँसैबाँस लगाए। सबैभन्दा पहिला पाण्डा भेटिएको यो ठाउँमा बाँस जताततै हुन्छ।
'कलिलो बाँस पान्डाले खान्छ। ठूलो बाँस हामीले घरमा लगाएका छौं,' आनले भने।
सोही वर्ष सेप्टेम्बरदेखि पुनर्निर्माण सुरू भयो। गाउँलेले कहिले सामूहिक काम गरे, कहिले एक्लाएक्लै। ६ महिनापछि घर ठडिन थाले। डेढ वर्षपछि त उही शैलीका ४० वटा घर बने। तल आफू बस्ने माथिल्लो तलामा पाहुना राख्ने मोडेलका घर। होमस्टे सञ्चालनको व्यवस्थापन गर्न सहकारी बन्यो।
अहिले वार्षिक ५० हजार पर्यटक यो गाउँमा आउँछन्। तीमध्ये धेरै आन्तरिक पर्यटक हुन्। उनीहरू शनिबार र आइतबार हुने बिदाको अवसर छोपेर होमस्टे पुग्छन्।
होमस्टेमा बस्दा सिंगल कोठालाई एक रातको ३६० र डबल कोठाको ६२० युआन पर्छ। गाउँलेले पाहुनालाई सकभर स्थानीय परिकार नै खुवाउँछन्।
'एकातिर घरभाडाको पैसा आउँछ अर्कातिर यहाँको स्थानीय सामान पनि बिक्री हुन्छ। अहिले गाउँले खुसी छन्,' गाउँ पुनर्निर्माणमा खटिएकी स्वंयसेवीले सी सिआओ छोङले एउटा फोटो देखाउँदै भनिन्, 'हेर्नुस् न गाउँका प्रमुख पुनर्निर्माण गर्नेबेलाभन्दा अहिले झन् तन्नेरी देखिनुभएको छ। हामीले भत्किएका घरमात्र बनाएका छैनौं, भत्किएका मन पनि जोडेका छौं।'
पुनर्निर्माणपछि गाउँलेमा सहयोगी भावना बढेको उनले बताइन्।
यो हिमाली पहाडी गाउँजस्तै थुप्रै चिनियाँ गाउँमा पछिल्लो समय गरिबीबाट माथि उठिरहेका छन्।
पछिल्ला ५ वर्षमामात्र गाउँमा बस्ने ६ करोड ६० लाख चिनियाँ गरिबीको रेखाबाट माथि उठेका छन्।
सरकारले देशभरिका गरिब जनसंख्याको विवरण भएको एउटा सिस्टम बनाएको छ। सोही विवरणका आधारमा कुन ठाउँमा कसरी गरिबी हटाउन सकिन्छ भनेर विज्ञसँग छलफल गर्छ।
अहिले पनि चीनमा तीन करोड मानिस गरिबीको रेखामूनि छन्। यो नेपालको जम्मा जनसंख्या बराबर हो। यी तीन करोडलाई २ वर्षमा गरिबीबाट माथि उकास्न अहिले सरकार लागिरहेको छ। वार्षिक २३ सय युआन (३९ हजार रूपैयाँ) आय नभएकालाई चीनले गरिबीको रेखामूनि राखेको छ।
चिनियाँ कम्युनिष्ट पार्टी स्थापनाको सतवार्षिकी मनाउँदा सन् २०२० सम्म निरपेक्ष गरिबी हटाउने चीन सरकारको लक्ष्य छ। यो लक्ष्य पूरा भएसँगै झन्डै १ अर्ब ४० करोड चिनियाँ खान, लाउन, आधारभूत शिक्षा र स्वास्थ्य र आवासको ग्यारेन्टी हुनेछ। त्यसका लागि केन्द्रदेखि काउन्टीसम्म गरिबी निवारणका कार्यालय खोलिएका छन्। पार्टी र गैरसरकारी संस्थालाई पनि सहभागी गराइएको छ।
सिचुवान विश्वविद्यालयको गरिबी निवारण केन्द्रकी निर्देशक प्राध्यापक वाङ छुओका अनुसार यो लक्ष्य चुनौतीपूर्ण भने अवश्य छ। किनकी गरिबी विशाल चीनभरि पूर्वदेखि पश्चिमसम्म फैलिएको छ। गरिब गाउँहरू समुद्रसँग नजोडिएका भौगोलिक अवस्था जटिल भएका ठाउँमा छन्। कतिपय गाउँ त सार्नु नै पर्ने अवस्था छ।
'तर अहिलेसम्म हामीले उदाहरणीय प्रगति हासिल गरेका छौं,' प्राध्यापक वाङले भनिन्, 'राष्ट्रसंघले तोकेको शताब्दी विकास लक्ष्यमा विकासशील देशबाट भएको गरिबी उन्नमुलनमा चीनको हिस्सा ७६ प्रतिशत छ।'
उनका अनुसार ३० वर्षमा चीनले ६६ करोड मानिसलाई गरिबीको रेखाबाट माथि उठाएको छ।
उनका अनुसार गाउँको गरिबी निवारणमा पाँच ओटा नीति अवलम्बन गरिएको छ: उद्योग, श्रम स्थानान्तरण, शिक्षा र स्वास्थ्यमा सहयोग र पर्यावरणको संरक्षण, गुणस्तरीय जीवनको ग्यारेन्टी र इ-कमर्स।
चिनियाँ गरिबी निवारणको मोडलबाट २३ प्रतिशत जनसंख्या गरिबीको रेखामूनि रहेको नेपालले के सिक्न सक्छ त? प्राध्यापक वाङले भनिन्- गरिबी निवारणमा स्थानीय स्रोत साधन र जनताको महत्वपूर्ण भूमिका हुन्छ। राजनीतिक व्यवस्था अर्को प्रमुख कुरा हो। चीनभन्दा फरक भएकाले नेपालले पनि गरिबी निवारणमा आफ्नै मोडल अपनाउन सक्छ।
नेपालको राजनीतिक व्यवस्था चीनभन्दा फरक छ। तर जसरी पाओसिङको हिमाली पहाडी गाउँले भूकम्पपछि पुनर्निर्माणलाई अवसरमा बदल्यो त्यो अवसर हामीसँग पनि छ।
अहिले हाम्रो पुनर्निर्माण धिमा गतिमा चलिरहेको छ। हामीसँग सिचुवानको त्यो हिमाली पहाडी गाउँजस्ता थुप्रै गाउँ छन्। तीनको पुनर्निर्माण गर्दा उद्यमलाई पनि हेक्का राखे गाउँलेले रोजगारी पनि पाउन सक्छन्। भ्रमण वर्ष २०२० पनि आउँदैछ। होमस्टेको चलन हाम्रोमा पहिलेदेखि छँदैछ। हाम्रा गाउँलाई पनि पुरानै शैलीमा पुनर्निर्माण गरी पर्यटकीय गाउँ बनाए कुनै पुर्णिमाको रात, टहटह जुन लागेको बेला लाउडस्पिकरमा गीत बजाउँदै विदेशी पर्यटक हाम्रा आँगनमा पनि नाच्नेछन्।