प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले पैसा कमाउनुभन्दा पनि काम गर्न प्रहरीलाई निर्देशन दिएका छन्।
वीरगञ्ज महानगरपालिकाको बिर्तामा रहेको वडा प्रहरी कार्यालयको नवनिर्मित ५ तल्ले भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले पैसा कमाउने उद्धेश्यले प्रहरीमा जागिर खान आउनेलाई प्रहरीको जागिर छोडेर अरू काम गर्न सुझाव दिँदै खनालले जनताको सेवामा लाग्न निर्देशन दिए।
‘शान्ति सुरक्षा कायम गर्नुभन्दा पनि लुकेको इच्छा पूरा गर्न खोज्दा समस्या आउने गरेको छ,’ खनालले भने, ‘सबैको उद्धेश्य जनता र समाजलाई राम्रो बनाउने हो भने मिलेर अघि बढ्न कसैले रोक्दैन।’
प्रहरी महानिरीक्षक खनालले नेपाल प्रहरीलाई अन्तर्राष्ट्रियस्तरकै रुपमा बनाउने प्रतिबद्धतासेत व्यक्त गरे।
राम्रो काम गर्नेलाई प्रोत्साहन र नराम्रो काम गर्नेलाई दण्डित गर्दै नेपाल प्रहरीलाई उत्कृष्ट प्रहरी बनाउने कार्यमा आफू लागिरेहको बताए।
खनालले नेपाल प्रहरीलाई अरू देशले अनुकरण गर्ने अवस्थामा पुर्याउने कार्यमा लगेको बताए।
उनले प्रदेश र स्थानीय सरकारसँग समन्वय गर्दै जनताले अनुभूत गर्नसक्ने गरी शान्ति सुरक्षा कायम गर्न निर्देशन दिए।
नयाँ कानुन लागू भइसकेपछि कसुर र अपराध बिचको भिन्नतालाई छुट्याउँदै प्रहरी संगठनको कार्य सम्पादन उत्कृष्टताका साथ हुनुपर्ने बताउँदै महानिरीक्षक खनालले त्यसमा नागरिकको सहयोग र सहकार्यको आवश्यकता रहेको बताए।
नयाँ मुलुकी संहिताले धेरै विषयलाई अपराधको संज्ञा दिएकोले प्रहरी संगठन झनै जिम्मेवार भएर अघि बढ्नुपर्ने उनको भनाइ थियो।
जनताले शान्ति सुरक्षाको अनुभूति गरून्, न्याय पाउन भन्ने नेपाल प्रहरीको मुख्य प्राथमिकता भएकाले सोचेको जस्तो उपलब्धि नभए पनि पर्साको शान्ति सुरक्षामा सुधार भएकोमा खुसी व्यक्त गरे।
महानिरीक्षक खनालले तीनै तहको सरकारसँग मिलेर शान्ति सुव्यवस्था कायम राख्न, जनताले अनुभूति गर्नेगरि न्याय सम्पादनमा सघाउन सरोकारवालासँग हातेमालो गर्दै अघि बढ्ने नेपाल प्रहरीको मुख्य उद्धेश्य रहेको बताए।
‘सबै स्थानीय तहसम्म प्रहरी युनिट पुर्याउने अभियानमा नेपाल प्रहरी संगठन लागिपरेको छ,’ उनले भने,‘ नभएका ३३ वटा स्थानीय तहमध्ये आधामा प्रहरी युनिट स्थापना भईसकेको र बाँकीमा पनि छिटै स्थापना हुन्छ।’
२०७२ साल मंसिर ८ गते सुरु भएको वडा प्रहरी कार्यालय विर्ताको ५ तल्ले भवन २ करोड ५४लाख २ सय ७२ रुपैयाको लागतमा निर्माण भएको हो।