निर्मला पन्तको हत्या अभियोगमा पक्राउ परेका दिलीपसिंह विष्टलाई प्रहरीले उपचारका लागि काठमाडौं ल्याएको छ।
प्रहरीले २४ दिनपछि मुख्य अभियुक्त बनाएर सार्वजनिक गरेका ४१ वर्षीय विष्टलाई उपचारको लागि काठमाडौं ल्याएएको हो।
‘दिलीपको स्वास्थ्य अवस्थाबारे थप जाँच गर्न हामीले काठमाडौं पठाएका छौ,’ कञ्चनपुरका एसपी कुवेर कठायतले सेतोपाटीसँग भने।
निर्मला हत्या प्रकरणमा केही दिनदेखि तनावग्रस्त बनेको महेन्द्रनगर क्रमशः शान्त बन्दै गएको छ।
स्थानीय प्रशासनले लगाएको कर्फ्यू आदेश पनि आज दिउँसोबाट हटेको छ।
घटनाबारे थप अनुसन्धान गर्न गृह मन्त्रालयले डिएसपी कृष्णराज ओझालाई अनुसन्धान अधिकृत तोकेर फेरि सुरूदेखि अनुसन्धान थालेको छ।
यसअघिको अनुसन्धानमा केही त्रुटी भेटिएको भन्दै कडायतले सुरूदेखि नयाँ टिमले अनुसन्धान अघि बढाएको बताएका छन्।
यसअधि प्रहरी निरीक्षक एकेन्द्र खड्का अनुसन्धान अधिकृत थिए। खड्कालाई प्रहरी प्रधान कार्यालय तानेर ओझालाई जिम्मेवारी दिएको हो।
प्रहरीले निर्मलाको हत्यामा बिष्टलाई मुख्य अभियुक्त बनाएर सार्वजनिक गरेपछि प्रहरीको अनुसन्धान शंकास्पद भएको भन्दै स्थानीय आन्दोलित छन्।
घटनाको विस्तृत अनुसन्धानका लागि गृह मन्त्रालयले गठन गरेको सहसचिव हरिप्रसाद मैनाली नेतृत्वको छानबिन समितिले घटनास्थलमा अनुसन्धान गरिरहेको छ।
निर्मला हत्या प्रकरणमा भीमदत्त नगरपालिका वडा नम्बर १८ का दुई दिदी बहिनीलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरू गरिसकेको छ।
नयाँ अनुसन्धान टिमले निर्मलाकी साथी रोशनी बम र उनकी दिदी बबिता बमलाई पक्राउ गरिसकेको हो।
रोशनीकै घरमा गएका बेला निर्मलाको बलात्कार र हत्या भएको थियो।
शुक्रवार प्रहरीको गोली लागि एक किशोरको मृत्यु भएपछि महेन्द्रनगर थप तनावग्रस्थ बनेको थियो।
यसैबीच सरकारले पन्त र प्रहरीको गोलीबाट ज्यान गुमाएका १४ वर्षीय शनि खुनाको परिवारलाई १०-१० लाख रूपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ।
शनिबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले घटनामा परी घाइते भएकाको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै सरकारले निःशुल्क उपचार गर्ने र घाइतेमध्ये अङ्गभङ्ग भएकालाई आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ।