१३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार-हत्याकाण्डमा विवादित जिल्ला प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टले अनुसन्धानमा केही त्रुटी गरेको भेटिएको छ।
विष्टले अनुसन्धानमा लापरबाही गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको हो।
त्रुटी देखिएपछि घटनाक्रमको पुनः अनुसन्धान हुने भएको हो।
अनुसन्धानको लागि गृह मन्त्रालयले डिएसपी कृष्णराज ओझालाई अनुसन्धान अधिकृत तोकिएको छ।
डिएसपी ओझा तीन दिनअघि मात्र कञ्चनपुरमा सरुवा भएका हुन्। यसअघि उनी धनगढीस्थित गणमा कार्यरत थिए। गम्भीर किमिसका अपराधमा डिएसपीलाई अनुसन्धान अधिकृत तोक्ने चलन छ।
यसअधि प्रहरी निरीक्षक एकेन्द्र खड्का अनुसन्धान अधिकृत थिए। खड्कालाई प्रहरी प्रधान कार्यालय तानिएको छ।
प्रहरीले निर्मलाको हत्यामा ४१ वर्षीय दिलिपसिंह बिष्टलाई मुख्य अभियुक्त बनाएर सार्वजनिक गरेपछि प्रहरीको अनुसन्धान शंकास्पद भएको भन्दै स्थानीय आन्दोलित छन्।
घटनाको विस्तृत अनुसन्धानका लागि गृह मन्त्रालयले गठन गरेको सहसचिव हरिप्रसाद मैनाली नेतृत्वको छानबिन समितिले घटनास्थलमा अनुसन्धान गरिरहेको छ।
समितिले आइतबार मृतकका परिवारसँग छलफल गरेको छ। प्रारम्भिक छानबिनमा प्रहरीको कमजोरी भेटिएपछि एसपी विष्टलाई निलम्बन गर्ने निर्णयमा गृह पुगेको हो।
दुई दिनअघि छानविनका लागि यहाँ आइपुगेको गृहमन्त्रालयका सहसचिव हरिप्रसाद मैनाली नेतृत्वको पाँच सदस्यीय टोलीले निर्मलाको शव भेटिएको उखुबारी, निर्मला स्कुलको गृहकार्य गर्न गएका साथी रोशनी बमको घर र निर्मलाको घरसमेत अनुगमन गरेको छ।
निर्मला हत्या प्रकरणमा भीमदत्त नगरपालिका वडा नम्बर १८ का दुई दिदी बहिनीलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरू गरिसकेको छ।
नयाँ अनुसन्धान टिमले निर्मलाकी साथी रोशनी बम र उनकी दिदी बबिता बमलाई पक्राउ गरिसकेको हो।
रोशनीकै घरमा गएका बेला निर्मलाको बलात्कार र हत्या भएको थियो। मृतकका आफन्तले उनीहरुमाथि नै आशंका गरेका थिए। पक्राउ परेका दुवै जनालाई सोमबार अदालतमा उपस्थित गराइने कञ्चनपुरका एसपी कुवेर कठायतले बताए। उनीहरुमाथि पोलिग्राफ टेस्ट गराउने समेत तयारी भइरहेको छ।
यसअघिको अनुसन्धानमा केही त्रुटी भेटिएको भन्दै कडायतले अब सुरू देखि नयाँ टिमले अनुसन्धान गर्ने बताएका छन्।
‘पहिले केही त्रुटी भयो, अब जुन घरबाट घटना सुरु भएको हो त्यहीँबाट नै अब अनुसन्धान सुरू हुन्छ। निर्मला गएको घरका दिदीबहिनी रोशनी र बबिता बमलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान थालिसकेको छ,’ कञ्चनपुरका एसपी कठायतले बताए।
शुक्रवार प्रहरीको गोली लागि एक किशोरको मृत्यु भएपछि महेन्द्रनगर थप तनावग्रस्थ बनेको थियो।
शुक्रवार साँझ ८ बजेदेखि लगाइएको कर्फ्यू आइतबार बिहान ५ बजेदेखि १० बजेसम्मको लागि खुलाए पनि अहिले कर्फ्यू जारी छ।
यसैबीच सरकारले पन्त र प्रहरीको गोलीबाट ज्यान गुमाएका १४ वर्षीय शनि खुनाको परिवारलाई १०-१० लाख रूपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ।
शनिबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले घटनामा परी घाइते भएकाको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै सरकारले निःशुल्क उपचार गर्ने र घाइतेमध्ये अङ्गभङ्ग भएकालाई आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ।