भीमदत्तनगर-२ की १३ वर्षिया निर्मला पन्तलाई बलत्कार गरी हत्या गर्ने वास्तविक अभियुक्त नखोजी नक्कली अभियुक्त खडा गरेको भन्दै प्रदर्शनमा उत्रिएकाहरूमाथि प्रहरीले गोली चलाएको छ।
प्रहरीले दिएको जानकारी अनुसार कञ्चनपुरको सदरमुकाम भीमदत्तनगरमा प्रदर्शनकारीले जिल्लास्थित सरकारी भवनमा तोडफोड गरेपछि प्रहरीले १० राउन्ड गोली हानेको हो। गोली लागि ३ जना गम्भीर घाइते भएका छन् भने थप १० जना घाइते छन्। आक्रोशित समूहले ट्राफिक जिल्ला प्रहरी कार्यालय तोडफोड गर्न थालेपछि गोली चलाएको प्रहरीले जनाएको छ। गोली प्रहारबाट घाइते हुनेमा अर्जुन भण्डारी, तेजराज भट्ट, किरण पाण्डे र सन्तोष कठरिया छन्। उनीहरुमध्ये भट्ट र भण्डारीलाई थप उपचारका लागि कोहलपुर रेफर गरिएको छ।
अहिले भीमदत्त नगरको अवस्था तनावपूर्ण छ। स्थिति नियन्त्रण लिन कैलालीबाट थप प्रहरी मगाइएको छ। सय जनाभन्दा बढी प्रहरी कैलालीबाट कञ्चनपुर पुगेका छन्।
साउन १० गतेदेखि हराएकी निर्मलाको ११ गते बलत्कारपछि हत्या गरिएको शव फेला परेको थियो। झन्डै महिना दिन लामो अनुसन्धानपछि प्रहरीले भदौ ४ गते ४१ वर्षिय दीलिपसिङ बिष्टलाई अभियुक्त भनेर सार्वजनिक गरेको थियो। तर स्थानीयवासी मुख्य दोषी पत्ता लगाउन छोडेर प्रहरीले नक्कली अभियुक्त बनाएको भन्दै विरोध गरिरहेका छन्।