आइतबार बेलुका खाना खाएर आफ्नै निवासको कोठामा सुतेका फ्रान्सका लागि नेपालका पूर्वराजदूत केशव झाको हत्या भएको छ।
काठमाडौंको बबरमहलस्थित ओलम्पिया कलेजसँगै जोडिएको झाको निवासमा धारिलो चक्कु प्रहारबाट उनको हत्या भएको प्रहरीले जनाएको छ।
झाको हत्या शंकास्पद रहेको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी धीरजप्रताप सिंहले बताए।
आइतबार साँझ खाना खाएर आफ्नो कोठामा सुतेका झा सोमबार बिहान अवेरसम्म नउठेपछि उनको श्रीमतीले प्रहरीलाई खबर गरेकी थिइन्।
एसएसपी सिंहका अनुसार झा सुतेको कोठा बाहिरबाट बन्द गरिएको थियो। दोस्रो तलामा बस्दै आएका झा सुतेको कोठाको झ्यालका जाली काटिएको छ।
प्रहरीले घटनास्थलबाट एक चक्कु समेत फेला पारेको छ।
झा श्रीमती र सहयोगी सानु तामाङसँग बस्दै आएका थिए। झाका एक छोरा र एक छोरी छन्। उनीहरू दुबैजना डाक्टर हुन्।
घटना रहस्यमय रहेको भन्दै प्रहरीले घटनास्थललाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ।
महानगरीय अपराध महाशाखाको टोलीले तालिम प्राप्त कुकुर प्रयोग गरी घटनाको अनुसन्धान थालेको छ।