रूकुम पश्चिमको मुसिकोट नगरपालिका -१४ कामा एक जनाले खुकुरीले हानेर भाइ र छोराको हत्या गरेका छन्। बाबुको आक्रमणबाट २ छोरा घाइते भएका छन्।
मुसिकोट- १४, लोरीबाङ लरेखेतका ३६ वर्षिय शंकर बिष्टले बुधबार बिहान ६ बजे घरमै खुकुरी प्रहार गर्दा ६ वर्षिय छोरा सुदर्शन बिष्ट र अपांग भाइ २० वर्षका गोकर्ण बिष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पश्चिम रूकुमका प्रमुख सुमित खड्काले सेतोपाटीलाई जानकारी दिए।
उनका अनुसार शंकरको खुकुरी प्रहारबाट छोराहरू प्रकाशसिंह र दिनेश बिष्ट घाइते भएका छन्।
घाइतेलाई उपचारका लागि नेपालगञ्ज पठाइएको छ।
शंकरको २ वर्षदेखि मानसिक सन्तुलन बिग्रिएको र सोही कारण बुधबार बिहान घरमै खुकुरी प्रहार गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
छोरा र भाईमाथी खुकुरी प्रहार पछि आफै माथि खुकरी प्रहार गरी आत्महत्याको प्रयास गरेको समेत प्रहरीले जनाएको छ।
संकरलाई नियन्त्रणमा लिएर जिल्ला अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।