काठमाडौं, मनोहरामा आमासँगै बस्दै आएका ११ वर्षीय निशान खड्का आइतबार स्कुलबाट घर आए। होलिल्यान्ड स्कुलमा कक्षा ६ मा पढ्दै गरेका उनी झोला राखेर गोपाल तामाङसँग पसल हिँडे। उनी गाेपाललाई अंकल भन्थे।
गोपालले निशानलाई मोबाइल किन्दिने भनेर लगेका थिए।
करिब ११ सय रुपैयाँ पर्ने मोबाइल लिएर निशान आफ्नी आमा चमेली खड्काले चलाउँदै आएको खाजाघर पुगे। गोपाल भने आफ्नो ठिमीस्थित कोठा गए।
गोपाल रङ लाउने काम गर्थे। अजय तामाङ भन्ने उनका साथीसँग चमेलीको खाजाघरमा चिया–खाजा खान आइरहन्थे। निशानसँग निकै घुलमिल थिए।
‘गोपाल अंकलले मोबाइल किनिदिनुभयो, राखिदिनू है’ भन्दै खुसी भएर निशान आमाको खाजाघरबाट साढे चार बजेतिर निस्के।
खेल्न गएको छोरा अबेरसम्म फर्केन। चमेलीले सोधीखोजी गर्न थालिन्। यताउता नभेटेपछि ‘कतै खेल्न गयो होला, आउला’ भन्दै बसिन्।
बेलुका ९ बजेर १ मिनेट जाँदा चमेलीको फोन बज्यो।
‘तिम्रो छोरा हाम्रो नियन्त्रणमा छ, ४० लाख देऊ हैन भने छोरा माया मार।’
चमेलीले थाहा पाइन्, छोरा अपहरणमा पर्यो।
कसले र किन गर्यो? यसको जवाफ थिएन।
छिमेकीलाई भनिन्। उनीहरूको सहयोगमा प्रहरीसम्म खबर पुर्याइन्।
बालक अपहरणमा परेको खबर प्रहरीमा फैलियो। महानगरीय प्रहरी परिसर काठमाडौं, अपराध महाशाखाको टोलीले एकीकृत रुपमा अपरेशन सुरु गरे। भक्तपुरका गल्ली–गल्ली छापा मार्दै अपहरणमा परेका निशानलाई राति नै खोज्न थाले।
सोमबार बिहान ९ बजे तिर ठिमीमा बन्दै गरेको श्याम लवटको घरको हिलाम्मे जगमा निशानको शव प्रहरी टोलीले फेला पार्यो। शव फ्याँकिएको घर नजिकै निशानका उनै अंकल भन्ने गोपाल तामाङको कोठा थियो।
गोपाल र अजयले नै निशानलाई मनोहराबाट ल्याएर ठिमीस्थित गोपालकै कोठामा राखेका थिए। त्यहीँबाट निशानकी आमा चमेलीलाई फोन गरे र छोरा अपहरण गरेको भन्दै ४० लाख फिरौती मागे। नदिए निशानको हत्या गर्ने धम्की दिए।
मनोहरामा सानो खाजा पसल चलाइरहेकी चमेलीले ४० लाख रुपैयाँ दिनसक्ने हैसियत थिएन। उनका श्रीमान गणेशबहादुर खड्का पाँच वर्षअघि काम गर्न मलेसिया पुगेका छन्। निशान र अरू दुई छोरी गरी तीन सन्तान छन्। स्थायी घर सिन्धुपाल्चोकको ज्यामिरे हो।
पैसा पनि नआउने र प्रहरीसम्म अपहरण खबर पुगेको उनीहरूले बुझे। प्रहरीले घरमा बालक फेला पार्ला भन्ने डरले हुन सक्छ, निशानको हत्या गरी हिलाम्मे जगमा खाल्डो खनेर फ्याँकिदिए।
शव फ्याँकेर गोपाल र अजय सूर्यविनायकतिर हानिए।
उता प्रहरीले चमेलीसँग सोधपुछ गर्दा गोपाल र अजयका बारेमा थाहा पायो। नियमित खाजा खान आउनेदेखि मोबाइल किनिदिएकोसम्म कुराले उनीहरूमाथि शंका भयो। प्रहरीले उनीहरूको दुवैको निगरानी गर्दै पिछा गर्यो।
प्रहरीका अनुसार उनीहरू सूर्यविनायकबाट पाइलट बाबाकाे आश्रम जाने बाटोको जंगलमा फेला पर्न सक्थे। निधो गरेर उनीहरूलाई पक्राउ गर्न प्रहरी टोली हिँड्यो। पक्राउ गर्न गएका प्रहरीमाथि गोपाल र अजयले आक्रमण गर्न खोजेको महानगरीय अपराध महाशाखाको भनाइ छ। उनीहरूसँग बन्दुक थियो। प्रहरीले पनि जवाफी फायर गर्यो।
निशान अपहरण र हत्यामा संलग्न गोपाल र अजय घटनास्थलमै मारिए।
महाशाखा प्रमुख एसएसपी धिरजप्रताप सिंहका अनुसार गोपाल र निशानकी आमा चमेलीबीच केही वर्षयता चिनजान थियो। हालसम्म पैसाकै लागि निशानको अपहरण र हत्या गरिएको हो–होइन भन्ने खुलिसकेको छैन।
निशानको घाँटी थिचेर हत्या भएको छ। प्रहरीले राति खोजी गरिरहेका बेला निशान रोइकराइ गर्ला र आफूहरू पक्राउ पर्ने डरका कारण उनीहरूले हत्या गरेका हुनसक्ने प्रहरीको अनुमान छ।
सामान्य खाजा पसल चलाएर बसेकी चमेली खड्काका छोरा अपहरण गरेर ४० लाख रुपैयाँ माग्नु र यसै बालकको हत्या गरिनुको खास कारण खुलस्त भइसकेको छैन।
यसबारे थप अनुसन्धान भइरहेको एसएसपी सिंहको भनाइ छ।