काठमाडौंको पशुपतिनाथ मन्दिर अगाडि रहेको बागमती नदिको जल बोकेर करिब ५० जना युवाहरू खोटाङको हलेसी बोलबमका लागि गएका छन्।
आन्तरिक पर्यटन प्रवर्धन गर्ने भन्दै काठमाडौंका बुलेट राइडर्सहरूले शुक्रबार पशुपति मन्दिर अगाडि रहेको बागमतीको जल उठाएर खोटाङ हिँडेका हुन्।
नासा बुलेट क्लबको आयोजनामा भएको उक्त राइडमा करिव ५० यूवाहरु सहभागी रहेका छन्।
बिभिन्न जाति, भाषा, धर्मको विषयमा निकै विवाद भइरहेको बेला हामीले पहिला नेपाली हुन सक्नुपर्ने भन्दै आपसी भाइचारा र पर्यटन प्रवर्धनका लागि टु ह्विलर यात्रा गरेको क्लवका अध्यक्ष प्रकास लिम्बुले बताए।
‘नेपाल भित्र रहेका विभिन्न जाति र धर्मबीच विवाद बढ्न थालेको हामीले अनुभव गरेका छौ। त्यसैले सबैभन्दा पहिले हामीले नेपाली हुन सक्नुपर्छ। त्यसका लागि हामीले यो यात्रा गरेका हौ,’ उनले भने,‘ साउनमा बोलबमको अवसर पारेर हामी ५० जना बुलेट राइडर पशुपति टु हलेसी यात्रामा निस्किएका हौ।’
‘मनसुन राइड’ नाम दिएको उक्त यात्रीहरूले पशुपतिनाथबाट उठाएको जल आजै बेलुका हलेसी पुगेर चढाउने लिम्बुले जानकारी दिए।
‘पशुपतिका मूल भट्टले बागमतिको जल उठाएर हामीलँई दिनुभएको छ। उक्त जल आजै हलेसी पुगेर चढाउने छौ,’ उनले भने।
सबै राइडरले नेपालको झन्डासहित हलेसि महादेवको ब्यानर बोकेर दौडिएका थिए।
हाम्रो यो यात्राले धार्मिक पर्यटनमा ठूलो सहयोग पुग्ने लिम्बुले बताए।
नासा बुलेट क्लबको आयोजनामा यसअघि पनि विभिन्न कार्यक्रमहरू भइरहेका छन्।
आन्तरिक पर्यटनका लागि भन्दै ताप्लेजुङको पाथिभरा,मुगुको रारा, मुस्ताङको मुक्तिनाथ, रसुवाको गोसाइकुन्ड, दोलखाको भिमसेनलगायत नेपालका विभिन्न स्थानमा बुलेट राइड गरिसकेका छन्।
शुक्रबार हलेसी लागेको टोली भोलि शनिबार फर्कने कार्यक्रम रहेको छ।