कारागारभित्रै नक्कली कागजपत्र तयार पारी अर्कोको जग्गा बेच्ने र करोडौं रूपैयाँ हात पार्ने योजना बन्छ।
अनि जुन व्यक्तिलाई जग्गा बेचिन्छ, त्यही व्यक्तिलाई मार्ने योजना हुन्छ। नक्कली जग्गा किन्ने व्यक्तिको हत्या गरियो भने, भोलिका दिनमा दाबी विरोध गर्न कोही आउँदैन र करोडौं रकम हातपर्छ भन्ने योजना बन्छ। नक्कली जग्गा किन्ने व्यक्तिलाई कसरी हत्या गर्ने त्यो योजना पनि बन्छ र अन्तिममा विषादी दिएर हत्या गर्ने योजना तय हुन्छ। विषादी पनि तयार हुन्छ, परीक्षण गरिन्छ र त्यही विषादीबाट एक जनाको मृत्यु हुन्छ।
यो कथा होइन सत्य घटना हो। घटनाका पात्र हुन्- ललितपुरस्थित नख्खु कारागारमा रेहका सिरियल किलर अभिषेक राज सिंह।
उनलाई साथ दिन्छन् बैंकिङ कसुरमा नख्खु कारागारभित्र रहेका अर्का कैदी मनोज कुमार चौरसियाले।
नक्कली लालपूर्जा बनाएर सस्तोमा जग्गा बेच्ने र ती जग्गा किन्ने व्यक्तिले किर्ते भएको थाहा पाइ उजुरी गर्लान् भनेर उनैलाई हत्या गर्ने योजना कारागारभित्रै बन्यो। यसको मुख्य योजनाकार सिंह थिए।
हत्या कसरी गर्ने र प्रहरीलाई कसरी छल्ने? भन्ने सबै योजना सिंहले मिलाए।
योजना अनुसार विभिन्न वनस्पति प्रयोग गरी मन्द विष बनाउने र हत्या गर्ने योजना तय भयो। योजना अनुसार नै सिंहले धुव्रकृष्ण शर्माको सहयोगमा कारागारबाट विष बनाउन आवश्यक वनस्पति मगाए। शर्मा केही समय अगाडि सोही जेलबाट चोरी मुद्दामा धरौटी बुझाएर छुटेका हुन्।
आवश्यक वनस्पति र केमिकल आएपछि सिंहले कारागारभित्रै मन्द विष बनाए।
सिंहले विष तयार पारे। तर, विष त बन्यो अब यसले काम गर्छ कि गर्दैन भनेर परीक्षण कसरी गर्ने? भनेर समस्या भयो। तर उनले कारागारमै रहेका कैदी भक्तबहादुर सुनुवारलाई परीक्षण गर्ने योजना बनाए।
कर्तव्य ज्यान मुद्दाको सजाय भुक्तान गरिरहेका सुनुवारलाई उनले वैशाख १९ गते कारागारभित्र नै बनाएको उक्त विष खानामा मिसाएर दिए। थाहा नै नपाई सुनुवारले विष खाए। विष खाएको केही समयमा नै विषले काम गर्न थाल्यो। सुनुवारले वान्ता गरे र ज्वरो पनि आयो।
तत्कालै उनलाई कारागारभित्रै रहेको स्वास्थ्य परीक्षण केन्द्रमा लगियो। समस्या झन जटिल भएपछि उनलाई २० गते वीर अस्पताल भर्ना गराइयो। २२ गते बिहान अस्पतालमै भक्तबहादुरको मृत्यु भयो। तर, भक्तबहादुरले विष खाएको डाक्टरको रिपोर्टमा कतै देखिएन।
सिंहले स्वास्थ्य रिपोर्टमा समेत नदेखिने किसिमको विष बनाएर खुवाएको केन्द्रीय अनुसन्धान ब्यूरोको अनुसन्धानबाट खुल्यो।
ब्यूरोका प्रमुख डिआइजी नारायण सिंह खड्काका अनुसार सिंहले बनाएको विष डाक्टरको रिपोर्टमा समेत देखिँदैन।
मंगलबार पत्रकार सम्मेलनमा डिआइजी खड्काले भने, ‘सिंहले धेरै चलाखी अपनाएका छन्, उनले कुन वनस्पति मिसाएर विष बनाए त्यो कुरा खुलाउन मिल्दैन । तर, उनले मिसाएका सबै वनस्पति हुन्।’
घटनाको यसरी भयो पर्दाफास्
भक्तबहादुर सुनुवारको कारागारभित्र रहस्यमय मृत्यु भएको खबर सञ्चारमाध्यममा आउन थाल्यो।
त्यसपछि भक्तबहादुरका दाई रामबहादुरले आफ्नो भाइको हत्या भएको भन्दै गृहमन्त्री रामबहादुर थापालाई जानकारी गराए। उनी नेपाली सेनाका सिटायर्ड कर्मचारी हुन्।
घटनाको विवरण सुनेपछि गृहमन्त्रीले एउटा उच्चस्तरीय छानबिन आयोग बनाउन निर्देशन दिए। सोही अनुसार पाँच सदस्य छानबिन समिति गठन भयो।
घटनाको छानबिन हुदै जाँदा आफैं मृत्यु नभएर हत्या गरिएको खुल्यो।
घटनाका योजनाकार सिंह आफू ओभानो बन्न मृतक भक्तबहादुरलाई मृत्यु हुनु अगाडि नै एउटा पत्र लेख्न लगाएका थिए।
‘अस्पतालमै हुँदा कारागार प्रशासनको लापरबाहीले आफ्नो मृत्यु भएको भन्दै चिठी लेखेका थिए। त्यो चिठी लेख्ने योजना पनि सिंहको रहेछ,’ डिआइजी खड्काले भने, ‘सुनुवारको मृत्यु भए कारागारको लापरबाही देखिने र कारागारमा रहेका भाइ नाइके, नाइकेमाथि अनुसन्धान हुने त्यसपछि आफू शक्तिशाली हुने भन्दै उनले योजना रचेको देखियो।
को हुन् अभिषेक, कति जनाको हत्या गरे?
बाहिरबाट हेर्दा निकै भलाद्मी देखिने यी व्यक्ति खतरनाक किलर हुन्। यिनले अहिलेसम्म देखिने गरी नै ७ जनाको हत्या गरिसकेका छन्।
४० वर्षीय अभिषेकमाथि ३ वटा ज्यान मुद्दा र एउटा ज्यान मार्ने उद्योगको मुद्दामा नख्खु कारागारमा सजाय भोगिरहेका छन्।
सिंहलाई भक्तपुर जिल्ला अदालले ३५ वर्ष, जनकपुर र सुर्खेत जिल्ला अदालतले २०/२० वर्षका दरले जेल सजाय तोकेका छन्।
पैसावाल विभिन्न व्यक्तिलाई साथी बनाउने व्यापार व्यवसाय गर्ने भन्दै विभिन्न योजना बनाउने, त्यही बीचमा विभिन्न औषधि प्रयोग गरी उक्त व्यक्तिको हत्या गर्ने र उसको सम्पत्ति हात पार्दै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ।
‘हत्या गरे पनि उनले प्रमाण नष्ट गर्ने र सकभर प्रमाण नै फेला नपर्ने गरी अपराध गर्दै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ,’ डिआइजी खड्काले भने।
यसरी सुरू भयो सिंहको अपराध यात्रा
अभिषेकका बुवा अजयराज सिंह खेलकुद परिषद बाँकेका शाखा अधिकृत थिए। २०६२ भदौ ८ गते तत्कालीन नेकपा माओवादीका दुई कार्यकर्ताले अजयराजलाई राजावादी भएको आरोपमा हत्या गरे। बुवाको हत्याले उनको दिमाग खलबलियो (सो कुरा उनले यस अघिनै प्रहरी बयानमा भनिसकेका छन्)
उनलाई आफ्ना बुवाको हत्याको बदला जसरी पनि लिने भन्ने सोच आयो।
त्यो बीचमा उनले लागूऔषधको पनि प्रयोग गर्ने थाले।
उनले बुवाका हत्यामा संलग्न रहेको भन्दै बाँके खजुरासीका १७ र १८ वर्षका दुई युवकलाई गोली हानी हत्या गरे। उनले हत्या गरेको कुरा प्रहरीले थाहा पाएपछि उनी भारततिरै बस्न थाले।
लामो समय भारत बसेपछि २०६४ सालमा उनी फेरि नेपाल आए। त्यसपछि उनले योग सिकाउने, झारफुक र तन्त्रमन्त्रको धन्दा सुरू गरे। त्यसताका उनी देव शर्माको नामले चिनिन्थे।
उनले आफ्नो असली नाम, थर, ठेगाना भएका सम्पूर्ण कागजपत्र र प्रमाणपत्र नष्ट गरेरै भारतबाट नेपाल आएका थिए। देव शर्मा त्यो बेला चर्चित योग गुरू र तान्त्रिक मानिन्थे। त्यही क्रममा उनले धेरैलाई ठगे।
वि.सं. २०६७ सालमा अभिषेकको भेट मदन विक्रम राणासँग भयो। धनाढ्य परिवारका राणा रोगी थिए। उनी देव शर्मा भनिने अभिषेककहाँ योग सिक्न आउने गर्थे।
राणाले आफ्नो जग्गा बेच्न लागेको अभिषेकलाई बताए। त्यसपछि अभिषेकले इचंगुनारायणका निरप भनिने २७ वर्षे नरबहादुर गोतामेसँग सम्पर्क गर्न सल्लाह दिए।
म्युजिक भिडियोमा अभिनयसमेत गरेका गोतामे जग्गाको कारोबार गर्थे।
गोतामेसँग मिलेर आधा सेयर खाने दाउ अभिषेकको थियो। तर, जग्गामा किचलो आएपछि गोतामेले अभिषेकलाई बाइपास गरी सबै कमिसन आफैं लिने योजना बनाएको उनले थाहा पाए।
म्युजिक भिडियोमा खेलाइदिन्छु भन्दै अभिषेकले दीपेन्द्र भन्ने साथीसँग मिलेर गोतामेलाई पोखरा, नेपालगञ्ज हुँदै सुर्खेत लगेका थिए। त्यही गोतामेको हत्या गरे।
त्यसैगरी अभिषेकले २०६९ साउन ७ गते बुद्ध भनिने जगतसिंह तामाङको पनि हत्या गरेका थिए। उनले मिलन लिम्बुसँग मिलेर जगतलाई भारतको सिलिगुढी हुँदै लखनउ लगेर हत्या गरेका थिए।
तीनै जना जगतको बा ८ च ३२३६ नं को वेगन आर ब्रान्डको कारमा सवार थिए। दिनभरि लखनउमा घुमघाम गरी बारावंकी र फैजावादको बीचमा रहेको होटल हाइवेमा आराम गर्ने बहानामा अभिषेकले जगतलाई २५ एमजीको ट्रिप्टिन नामक डिप्रेसनको औषधि दूधमा मिलाई खान दिएका थिए। त्यसपछि बेहोस भएका जगतको केही समयमै मृत्यु भयो।
त्यसैगरी आफ्नै घरमा काम गर्ने सार्की तामाङलाई पनि अभिषेकले लट्ठ्याउने औषधि दिई इन्जेक्सन लगाएर हत्या गरे।
आफ्ना गोप्य सूचना लिक गर्न सक्ने भन्दै उनले सहयोगीको हत्या गरेको प्रहरीले दाबी गरेको छ।
त्यसैगरी काठमाडौं पेप्सीकोलाका निरनजंग पाण्डेलाई नागमणि खोज्न जाने बहानामा हेटौंडाको खोप्लाङमा हत्या गरे।