सरकारले बौद्ध–साँखु सडक खण्डको विवादित अंश छाडेर अहिलेलाई बीचको १० देखि १२ मिटर कालोपत्रे गर्ने भएको छ।
बाइस मिटर बनाउने भनिएको यो सडक सर्वोच्च अदालतमा मुद्दा परेपछि काम रोकिएको थियो। सडक विस्तार गर्न दुवैतर्फ जग्गा खाली गराउन नसक्दा तीन वर्षदेखि जीर्ण र जोखिमपूर्ण अवस्थामै रह्यो।
पछिल्लो समय सास्ती चरम भएपछि स्थानीयको दबाबले सरकार विकल्प खोज्नमा लागेको थियो।
दायाँबायाँको विवादित खण्ड त्यत्तिकै छाडेर बीचको १०–१२ मिटर कालोपत्रे गर्न खोजेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता राजेन्द्रराज शर्माले जानकारी दिए।
उनका अनुसार मन्त्रालयले यससम्बन्धी प्रस्ताव अबको मन्त्रिपरिषद बैठकमा पेस गर्नेछ। स्वीकृत भएर आएपछि काम अघि बढ्ने उनले बताए।
‘हामी सकभर यसै साताबाट कालोपत्रे सुरु गर्ने योजनामा छौं,’ उनले सोमबार सेतोपाटीसँग भने।
बौद्ध–साँखु सडक राजधानीको व्यस्त बाटो हो। यसले मध्यबजारलाई विश्व सम्पदा सूचीको बौद्ध र स्वस्थानी ब्रतसँग सम्बन्धित साँखुलाई जोड्छ। यस क्षेत्रका एक दर्जनभन्दा बढी गाउँलाई मध्य काठमाडौंसँग जोड्ने बाटो यही हो।
जीर्ण भएपछि २०७२ सालमै चाबहिलबाट साँखुसम्म चारलेन सडक बनाउने सरकारले योजना ल्यायो। काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले २२ मिटर चौडा पार्न त्यसै वर्ष असोजमा विभिन्न १० वटा कम्पनीसँग छुट्टाछुट्टै ठेक्का सम्झौता गर्यो। सडकनिम्ति जग्गा खाली नभएको भन्दै ठेकेदार कम्पनी म्याद थप्दै बसेको थियो।
करिब १०–१२ मिटरको सडकलाई २२ मिटर बनाउन धेरै घरबार भत्काउनुपर्यो। कतिपय स्थानीय राजीखुसी तयार भए। कतिले भने मुआब्जामा असन्तुष्टि जनाउँदै सर्वोच्च अदालतमा रिट हाले।
ती रिटमा गत वर्ष असोज २ गते सर्वोच्चले अन्तिम सुनुवाइ गर्दै ‘निवेदकको मागअनुसार गर्नू’ भन्ने फैसला गरेको थियो। पूर्णपाठ भने नौ महिनापछि असार १४ गते मात्र आयो। यसबीच यो सडकखण्डको काम ठप्प रह्यो।
फैसलाको पूर्णपाठमा सडक विस्तार गर्नुअघि नै त्यहाँका जग्गाधनीलाई क्षतिपूर्ति र मुआब्जा दिनू भनिएको छ। बीचैमा रोकिएका विस्तार योजनामा पनि जग्गाधनीलाई मुआब्जा दिँदै सडक निर्माण सँगसँगै अघि बढाउनू भन्ने आदेश छ।
यो फैसलाले चाबहिल–साँखु खण्डसहित उपत्यकाका ६ ठाउँमा रोकिएका विस्तारका काम अघि बढाउन बाटो खुले पनि कार्यान्वयन हुन समय लाग्छ। सडक विस्तारले प्रभावित जग्गा तथा घरधनीलाई मुआब्जा दिएर अन्यत्र स्थानान्तरण गर्नुपर्नेछ। केही स्थानमा नापीसमेत भएको छैन। कति जग्गा ओगट्नुपर्छ भन्ने पनि निश्चित छैन। त्यसमाथि तत्काल मुआब्जा वितरण गर्न बजेट नभएको काठमाडौं उपत्यका विकास प्राधिकरणले जनाएको छ।
सर्वोच्चको आदेशअनुसार सडक विस्तार गर्न समय लाग्ने र यसबीच जीर्ण सडकको सास्ती हटाउन स्थानीयको दबाब बढेपछि सरकार विकल्पको तयारीमा लागेको हो।
‘सर्वोच्चको फैसलापछि पनि सबै भाग खाली गर्न समय लाग्छ। त्यतिञ्जेल कुर्दा अझै सास्ती हुन्छ,’ प्रवक्ता शर्माले भने, ‘त्यसैले जनताको मागअनुसार विवादित जग्गा छाडेर साविकमा जति भाग सडकले ओगटेको थियो, अहिलेलाई त्यति कालोपत्रे गर्ने निर्णय भएको हो।’
बौद्धका स्थानीयले पनि विवादित भाग छाडेर बीचको सडक कालोपत्रे गर्न माग गर्दै आएका थिए।
‘सर्वोच्चको फैसलाअनुसार सरासर काम गर्दा पनि निर्माण सुरु हुन एक वर्षभन्दा बढी लाग्ने देखिन्छ,’ वडा नम्बर ६ का अध्यक्ष दीपेन्द्र लामाले भने, ‘तत्काल कुनै उपाय नलगाए स्थानीयले सास्ती भोग्छन् नै, पर्यटकीय स्थान पनि सुनसान हुन्छ।’
प्रक्रियाअनुसार मुआब्जा र क्षतिपूर्ति सम्झौतापछि काठमाडौं उपत्यका विकास प्राधिकरणले जग्गा खाली गराउँछ। त्यसपछि सडक विस्तार आयोजनाले काम सुरु गर्छ। यी सब प्रक्रिया कहिलेबाट थालिन्छन् टुंगो छैन।
‘अझै यसरी नै लथालिंग छाडेर सास्ती थप्दै जानुभन्दा बरु बीचको भाग कालोपत्रे गर्नु नै राम्रो हो,’ वडाध्यक्ष लामाले भने, ‘यति मात्र गरे पनि दुर्घटना जोखिम र धूलोधुवाँको सास्ती कम हुन्थ्यो।’
उनका अनुसार पछिल्लो समय बौद्ध–साँखु खण्डका खाल्डाखुल्डी पुर्ने काम भइरहेको छ। बर्खा बेला भएकाले जति पुरे पनि एकैछिनमा उस्तै हुन्छ।
‘रातभर बसेर खाल्डा पुर्यो, पानीले बगाएर बिहान उस्तै हुन्छ। खर्च र समयको नाश। उपलब्धि शून्य। यसको दीर्घकालीन उपाय नभइ हुँदैन,’ उनले भने।
बीचको १०–१२ मिटर मात्र कालोपत्रे गर्नु पनि दीर्घकालीन समाधान होइन। यसले दायाँ–बायाँका खाली भाग हिलाम्मे र धूलाम्मे रहन्छन्। कुनै उपाय गरेर त्यो खाली खण्डमा गाडी लैजान रोक लगाए धूलो कम हुने र दुर्घटना जोखिम घट्ने उनी बताउँछन्।
‘सडक विभागले बीचको भाग मात्र कालोपत्रे गरिदियो भने दायाँबायाँ गाडी छिराउन कसरी रोक्ने भनेर हामी छुट्टै छलफल गर्नेछौं। यात्रु ओराल्ने र चढाउने ठाउँ छुट्टयाउँदै अरूतिर बार लगाएर गाडी प्रवेश रोक्न सकिन्छ कि!’ लामाले भने।
वैकल्पिक सडक व्यवस्थाले यहाँको सवारी चाप धेरै हदसम्म समाधान हुने देखिन्छ।
मित्रपार्कबाट गौरीघाट हुँदै नारायणटार पुलसम्म बागमती किनारको सडक वैकल्पिक बाटो हुनसक्छ। मित्रपार्कबाट ओरालो लागेपछि बागमती किनारैकिनार जाने यो सडक नयाँ बस्ती (दिव्य नगर) हुँदै बौद्ध निस्कन्छ। नयाँ बस्ती छिरेर निस्कने सडक भर्खरै कालोपत्रे गरिएको छ। खोला किनारैकिनार नारायणटार पुलमा पुगेपछि बौद्ध–साँखु सडकसँग जोडिन्छ। यो वैकल्पिक बाटो प्रयोग गरे बौद्ध–साँखुको मूलसडकमा सवारी चाप कम हुनेछ।
यी दुई रुटमा फरक पर्ने दूरी १००–२०० मिटर मात्र हो। यो वैकल्पिक सडक पनि वर्षौंदेखि जीर्ण छ। स्तरोन्नतिका लागि ठेक्का सम्झौता भए पनि ठेकेदार सम्पर्कमै नरहेको वडाध्यक्ष लामाले जानकारी दिए।
‘ठेकेदार भागेजस्तो छ। काम अघि बढेको छैन। यो सडक सुधार भइदिए बौद्ध–नारायणटारसम्मको चाप कम हुन्थ्यो,’ उनले भने।
मन्त्रालय प्रवक्ता शर्माले पनि वैकल्पिक सडकबारे छलफल गरेर स्तरोन्नतिको काम अघि बढाउने बताए।