अस्पताल भित्र प्रहरीले बल प्रयोग गरेर दर्जनौलाई घाइते बनाएपछि २० दिनदेखि अनसनरत डाक्टर गोविन्द केसी सरकारी हेलिकप्टर चढेर आफू काठमाडौं नजाने अडान लिएका छन्। बिहिबार बिहान प्रहरीले अस्पतालमा बल प्रयोग गरेपछि डाक्टर केसीले ‘अस्पतालमा गुन्डागर्दी नगर म काठमाडौं जान तयार छु’ भनेका थिए।
त्यसैबीच प्रहरीले अस्पताल भित्र रहेका डाक्टर, नर्स र विद्यार्थीमाथि बल प्रयोगका क्रममा तीन जना डाक्टरसहित दर्जनौ विद्यार्थी, विरामी कुरूवा र एक जना प्रहरी घाइते भएका थिए।
अस्पतालका उपकरण तथा भौतिक संरचनामा क्षति पुगेको छ। झ्याल ढोकाका सिसा फुटेका छन्। प्रहरीले चलाएको गोलीले आफूहरूबीच सादा पोशाकमा रहेका एक प्रहरी घाइते भएको विद्यार्थीले जनाएका छन् भने प्रहरीले गोली नचलेको दाबी गरेको छ।
जुम्ला प्रहरी प्रमुख तपन दाहालले आफ्ना प्रहरी जवानको छातिमा गोली नभएर सिसाको टुक्रा पसेको बताए।
प्रहरीको बल प्रयोग पछि जुम्ला अस्पताल 'रणसंग्राम' जस्तो बनेपछि डाक्टर केसीले सरकारी हेलिकप्टर चढेर काठमाडौं आउन इन्कार गरेका हुन्। उनलाई राम्रो उपचार चाहिएको भन्दै सरकारले जबरजस्ती उठाएर काठमाडौं ल्याउन खोजेको थियो।
सेतोपाटीसँग कुरा गर्दै कर्णाली प्रदेशका मुख्या मन्त्री महेन्द्रबहादुर शाही आफूहरू अहिले पनि डाक्टर केसीलाई लिएर काठमाडौं जान पर्खिरहेको बताए।
‘हामीहरू कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँग कुरा गरिरहेका छौ, उहाँले डाक्टरसा’ब काठमाडौं जानुहुन्छ भन्नु भएको छ,’ उनले भने।
डाक्टर केसीले भने जुम्ला अस्पतालमा प्रहरीको 'ताण्डव'पछि आफू जुम्ला छोडेर नजाने जानै परे आफ्नै हिसाबले काठमाडौं जाने तर सरकारी हेलिकप्टर चढेर नजाने बताएका छन्।