२० दिन देखि जुम्लामा अनसन बसिरहेका डाक्टर गोविन्द केसी काठमाडौं आउन तयार भएका छन्। केहीबेरमा जुम्लामा पत्रकार सम्मेलन गरेर उनी सरकारी टोलीसँगै काठमाडौं आउन तयार भएका हुन्।
काठमाडौंबाट कुनै पनि हालतमा डाक्टर केसीलाई लिएर आउनु भन्ने आदेश आएपछि मुख्यमन्त्रीसँग डाक्टर केसीले अस्पताल तोडफोड गर्नु पर्दैन आफू काठमाडौं जान तयार रहेको बताएका हुन्।
प्रहरीले बल प्रयोग गर्दा अस्पतालमा बिरामीका कुरावासहित डाक्टर र नर्ससहित दर्जनौं घाइते भएपछि डाक्टर केसी काठमाडौं जान तयार भएका हुन्।
‘यसरी गुन्डागर्दी गर्नुपर्दैन, अस्पताल तोडफोड गर्नुपर्दैन, म काठमाडौं जान तयार छु,’ डाक्टर केसीले भने,‘यस्तो नरसंहार देख्नुभन्दा बरु म काठमाडौ जान्छु।’
अस्पतालले दिएको डाक्टर केसीको पछिल्लो स्वास्थ्य अवस्थापछि सरकारले केसीलाई काठमाडौं ल्याउन स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशकमा डा. गुणराज लोहनी नेतृत्वको टोली आर्मीको हेलिकप्टर लिएर बिहिबार बिहानै जुम्ला पुगेको थियो।