काठमाडौंमा १४ पटकसम्म मेडिकल शिक्षाकै विषयलाई लिएर अनशन बसेका डा. गोविन्द केसी १५ औं अनशन बस्न जुम्ला आउँदैछन् भन्ने हल्ला फैलिएपछि जुम्लाको सदरमुकाम एकाएक तरंगित भयो।
चियापसल र चौतारामा मानिसहरूले जिज्ञासा राख्न थाले, ‘किन आउँदैछन् डा. केसी?’, 'के मक्सत हो उनी यहाँ आउनुको?', 'खास के छन् माग?' आदि।
चोक, चौतारा र चिया पसलको बहस डा. केसीमय भएको थियो। प्रशासन भित्र भित्रै सक्रिय भइसकेको थियो। त्यसैले प्रशासनले १५ गते साँझ नै एक सूचना जारी गर्यो, ‘जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको दुई सय मिटर वरपर जुलुस, धर्ना, अनशन लगायताका कुनै पनि गतिविधि गर्न पाइनेछैन।’
डा. केसी १५ गते राति गाडीमा जुम्ला पुगे। उनलाई बस्ने व्यवस्था उनले पढाएका विद्यार्थीले गरेका थिए। उनलाई भेट्ने चाहाना धेरैले गरिरहेका थिए। उनको आन्दोलनलाई साथ दिन दबाबमूलक गतिविधि गर्ने मनसायमा मानिसहरु थिए।
डा. केसी १४ गते नै जुम्ला आउने कुरा गाँइगुईँ सुनेका जुम्ला चन्दननाथ नगरपालिका ३ का किसान अमरसिंह बुढथापा १५ गते बिहानै प्रतिष्ठान पुगिसकेका थिए। त्यो बेला उनले सुनाए, ‘डा. गोविन्द केसीको जुम्लामा भएको १५ औं अनशन नितान्त देश र जनताको हित र मेडिकल कलेज माफियाको विरुद्धमा हो। उनी यता आउने कुरा दुई दिन अगाडिनै फेसबुकमा थाहा पाएको हुँ। उनले काठमान्डुमा१४ पटकसम्म अनशन बस्दा काठमान्डु उपत्यकामा मात्र बढी चहलपहल थियो। बाहिर त्यति थियन तर जुम्लाको १५ औं अनशनले आम जनतामा सकारात्मक प्रभाव पारेको छ र न्यायको बाटोमा डोहोर्याएको छ। केन्द्रदेखि प्रदेशका जिम्मेवार भनाउँदा गैरजिम्मेवार सरकार र प्रतिनिधिलाई नंग्याएको छ। उनीहरूको चरित्र उदांगो पारेको छ।’
उनले फेरि थपे, ‘सत्यको पक्षमा न्यायको खोजी गर्दै हिड्ने मान्छे कम भेटिन्छन्। यतिबेला डा. केसीको पक्षमा केही गर्न सके यो माफियामुखि सरकारलाई ठूलो धक्का हुनेछ।’
जनस्तरबाट डा. केसीलाई निकै चासो दिने अर्का एक जना हुन चना नपा ४ का युवा महेन्द्र कार्की। उनले पहिला त डा. केसीलाई चिनेकै थिएनन्। केसीको अनशनको सुरुसुरुमा यो मान्छेले के गरिरहेको होला? भन्ने लाग्थ्यो। जब डा. केसी बाह्रौं तेह्रौं पटकसम्म अनशन बसे त्यसपछि उनको विषयमा अध्ययन गर्नु जरूरी ठाने।
विस्तारै पत्रपत्रिका र साथिभाईहरुसँगको गफगाफबाट डा. केसी ठिक लाग्न थाल्यो। त्यसपछि काठमाडौंमा हुँदा माइतीघर मण्डलामा हुने 'सेभ डि आर केसी' आन्दोलनमा 'आयाम विथ डि आर केसी' लेखेको प्लेकार्ड बोकेर कति पटक गएका छन्। कांग्रेसको राजनीति गर्ने उनलाई डा. केसीको आन्दोलन राजनीतिक नभएर सामाजिक हो भन्ने लाग्छ।
हरेक राजनीतिक परिवर्तनपछि जुन रूपमा सामाजिक आन्दोलन हुनुपर्ने हो त्यसरी आन्दोलन हुन नसक्दा आज नेपालीले खास परिवर्तनको महसुस गर्न पाएका छैनन्।
नेपालमा मुलधारको राजनीति गरिरहेका चाहे कांग्रेस हुन वा चाहे कम्युनिष्ट नाम गरेका उनीहरू सबैले शिक्षा र स्वास्थ्य क्षेत्रलाई छाडा छोडेकै कारण शिक्षा र स्वास्थ्य व्यापारको माल हुन गयो। त्यसका लागि राज्यलाई दायित्वमुखी बनाउनुपर्ने हुन्छ।
डा. केसी सायद अस्पतालमा छन् भन्ने सोचेर महेन्द्र कार्की १६ गते बिहान कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पुगेका थिए। तर, त्यहाँ उनले निषेधित क्षेत्र लेखेको प्रशासनको सूचना पढे। त्यसपछि उनले डा. केसीलाई जसरी भए पनि भेट्नुर्छ भनि बजारतिर खोज्न निस्किए। एक दुई जना चिनेका डाक्टरलाई फोन गर्दा सम्पर्क भएन।
पछि होटल स्नोल्याण्डमा बसेका छन् भनि थाहा पाएपछि त्यहीँ गएर डा. केसीलाई भेटेँ। त्यसपछि उनले एक हिसाबले डा. केसीको सहयोगीको काम गरे। अनशनको लागि काठमाडौंबाट लिएर आएको सामग्रीहरु व्यवस्थित गर्ने काम पनी उनले नै गरेका हुन्।
उनले त्यस पललाई यसरी सम्झिए, ‘बिहान भेट हुने बित्तिकै प्रेस विज्ञप्ति प्रिन्ट भयो। त्यसपछि डा. केसीले चना खाने मन गर्नुभयो। दुई तीन ठाउँमा चना खोज्दा भेटिएन। पछि टुँडिखेलनेर रहेको होटेल खाड्काजीमा चना खानुभयो। हामी खान खान लाग्यौं। दिनभर सँगै हुने योजना थियो। उहाँ अघिल्लो दिन बसेको होटलमा जानुभयो।’
डा. केसीले अनशन सुरु गर्नुभन्दा पूर्व सधैंजसो आफ्नो स्वास्थ्य अवस्थाको जाँच गराउने गरेका रहेछन्। त्यसमा रगत जाँच अनिवार्य रहेछ। ठीक दश बजे उनी आफ्नो स्वास्थ्य अवस्था जाँच गराउन अस्पताल जाने क्रममा टुँडिखेलको माथिल्लो गेटनेर प्रहरीले उनलाई रोक्यो र भन्यो- तपाईँ अगाडि जान पाउनुहुन्न।
डा. केसीले प्रश्न गर्नुभयो- किन? प्रश्नको जवाफ प्रहरीले यतिमात्र दियो - माथिको आदेश छ।
डा. केसीलाई रोकेको ठाउँमा मान्छेको भीड लाग्यो। त्यहाँ भएका धेरैलाई सरकारले अन्याय गरेको महसुस गरिरहेका थिए। कतिले आवेश पोखिरहेका थिए। केही भने प्रहरीसँग मुठभेट गर्न पनि तयार थिए। तर, डा. केसी भने त्यसो गर्नहुन्न भनि सम्झाउने काम गरिरहेका थिए।
त्यहाँ प्रश्न उठ्नुको कारण अस्पताललाई निषेधित क्षेत्र घोषणा गरे पनि टुँडिखेल त झण्डै एक किलोमिटर टाढाको दूरीमा पर्थ्यो। त्यतिवेला डा. केसी अस्पतालमा अनशन गर्न नगई आफ्नो चेकजाँच गराउन हिँडेका थिए।
यस्तो अवस्थामा पनि डा. केसीलाई प्रहरीले रोकेपछि उपस्थित सबैले सरकार निरंकुश भएको महशुस गरे।
पछि डा. केसी प्रशासन अगाडि गएर बसे। भीडले उनलाई छोडेन। उनी जसरी बसे अरू मान्छे पनि त्यसरी नै बसे। हुलमुल निकै थियो। प्रशासनलाई यी दृष्यहरु पचेनन्। प्रशासनले प्रहरी लगायो।
त्यही बेला हुलमुलको आवाजलाई छिचोल्दै एउटा ह्याण्डमाइकको आवाजमा 'सम्बन्धित मान्छेमात्र बस्नुस, अरु सबै गइदिनु अन्यथा यहाँ लाठी चार्ज हुनेछ,' भन्दै जिल्ला प्रहरी कार्यालाय जुम्लाका डिएसपी बोलिरहेका थिए।
त्यही वेलामा डा. केसी आफ्नो १५ औं अनशनबारे खुला रुपमा पत्रकार सम्मेलन गरिरहेका थिए। पत्रकार सम्मेलन सकिन नपाउँदै आएको थियो- डिएसपीको यो धम्की।
लाटा, सोझा र निमुखाहरु यत्ति धम्कि सुनिसकेपछि एकएक गर्दै लाखा पाखा लागे। डा. केसीको आन्दोलन सही छ। उनका मुद्दा आम जनताका हुन्। उनले समग्र नेपालीको आवाज बोलेका छन्। कम्तिमा यत्ति बुझेका मान्छेहरु उनकै वरिपरि बसिरहेका थिए। मान्छेको संख्या विस्तारै कम भैरहेकै बेला हेण्डमाइकको आवाज रोकियो। डिएसपी एकएक गरी डा. केसी वरिपरिका मान्छेलाई हुत्याउन कसिए। उनले बल प्रयोग गरे।
प्रहरीले डा. केसीलाई नियन्त्रणमा लियो। अरूलाई धकेल्दै अघि बढ्यो। त्यो हुलमा सबै राजनीतिक दलका नेता, कार्यकर्ताहरु पनि थिए। त्यसमा नेपाली कांग्रेसका नेता देबेन्द्र शाही पनि थिए।
उनी कांग्रेसको तर्फबाट प्रतिनिधि सभामा उम्मेद्वार बनेका थिए। प्रहरीसँग धकेलमकेल भयो। त्यस दिन प्रहरीहरु जीआई पाइप बोकेर आएका थिए। देबेन्द्र शाहीले खुब कुटाई खाए शरीरमा निल डाम हुने गरी।
अनशनको घोषणा नगर्दै डा. केसीलाई पत्रकार सम्मेलन गरिरहेकै स्थानबाट तानेर प्रहरीले खोरसम्म पुर्यायो। डा. केसी पक्राउ पूर्जी मागिरहेका थिए। प्रहरीले पूर्जी दिएन। बरू प्रहरी प्रमुख आफैंले तानेर लगे।
आम नागरिकले कानुनसम्मत जाउँ भनि सुझाइरेकै बेला डा. केसीलाई खोरमा लिन कुनै पक्राउ पूर्जी नचाहिने कुरा आयो। समग्रमा डा. केसीलाई कुनै पनि खालको गतिविधि गर्न नदिन प्रशासन हात धोएर लागिरह्यो।
नेपालको संविधान २०७२ को प्रस्तावना, मौलिक हकको धारा १७ उपधारा २ क, ख र ङ ले लिपिवद्ध गरेको अधिकार विपरीत प्रशासन लाग्यो। पछि डा. केसीले प्रहरीको खोरबाटै अनशनको घोषणा गरे।
त्यसपछि प्रहरी डराएर डा. केसीलाई जिल्ला खेलकुद विकास समितिको कवर्ड हलमा लगेर राख्यो। सार्वजनिक शौचालय जत्तिको फोहार कवर्ड हलमा डा. केसी पाँच दिनसम्म अनशन बसे। उपचारमा संलग्न डाक्टरहरुले डा. केसीको भेनसम्म ओपन गरेनन्, फोहोरकै कारण।
अनशनको पाँचौं दिनमा डा. केसीको अवस्था गम्भीर भएपछि उनलाई प्रतिष्ठान लगियो।
हरेक दिनजसो डा. केसीको समर्थनमा केही न केही गतिविधि भैरहेको छ। आज डा. केसी नचिनेका मान्छे पनि उनीबारे चासो लिन थालेका छन्। उनको समर्थनमा बोल्न थालेका छन्। सरकारको विरोध गरिरहेका छन्।
अउद्योग वाणिज्य संघको टहरामा चिया पसल गरिरहेका काँसिराम भण्डारीले भने, ‘खास चिनेको नाई। तर अस्पतालमा अनशन बसिरहेका छन् भन्ने सुनेको छु। पहिला त केही थाहा थिएन तर आजभोलि चिया खान आउने मान्छेहरुले कुरा गरेको सुन्छु। कान कम सुन्ने भएकोले उति थाहा पाउन्न।’
त्यही नजिकै अर्को ठाउँमा चिया पसल गर्ने नौरती गिरीले भने सबै थाहा पाएको जस्तो गरि बोलिन्, ‘जन्ताको लागि भोकभोकै नागनागै बस्याछुन्। ज्या गर्याछुन् राम्मो (राम्रो) गर्याछुन्। सबै हाम्मै लागि हो। क्या गन्नु फुर्सद नाई र भ नतर त बाइजान्या छिया,’ आफू आन्दमेलनमा जान नपाएकोमा पछुतो मानेकी थिइन्।
केही दिन यता जुम्लाका महिलाहरू हरेक दिन, ‘डा. केसीको जीवन रक्षा गर,' ‘डा. केसीको माग हाम्रो हो', जस्ता नारा लगाउँदै सडकमा आइरहेका छन्। ‘डाक्टर केसीका जायज माग पुरा गर।’ ‘उहाँको जीवन रक्षा गर’, लेखेको कालो व्यानर समातेकी चना ६ की ६६ वर्षकी बिजु रावल भन्छिन्, ‘यतिका दिनसम्म डाक्टर न भोक्कै राख्याछुन्। क्या मान्न (मार्न) आँट्या होनन् त? सरकार क्या भया होला त यइथो।’
उनीसँगै व्यानर समातेकी ५५ वर्षकी दुबै आँखा नदेख्ने उमा रावलले भनिन, ‘ज्या पड्या पाडला अब त लड्न्या हो। मान्ठान् यइथरी पाथरखोल्या बुन्चरो फाल्या जो गन्न (गर्न) पाइन्छ?’, उनी बिद्रोह बोलिरहेकि थिइन्।
रत्नचुडेश्वर माविमा दश कक्षा पढ्ने बालकुमारी भण्डारीले भनिन्, ‘गरिब जनताका छोराछोरीले पनि डाक्टर पढ्न पाउनुपर्छ, पैसा नहुने र राम्रो आम्दानी नहुनेले पनि उपचार गर्न पाउनुपर्छ भनि अनशन बसिरहनुभएको छ। डा. केसी।’
उनको बुझाईमा अनशन भनेको खाना पानी केही पनि नखाई आफ्ना मागहरु राख्नु हो। भारतमा माहात्मा गान्धी र नेपालमा नेपाली कांग्रेसले गरेका सत्याग्रहको विषयमा उनले पढेकी रहिछन्।
सुनरगाँ मस्टका धामी पूर्णसिंह कठायतले डा. केसीबारे देउडामै भने-
‘जाइलाग्न जान्यानाई कैले, आइलाग्या लड्नुछ।
गोविन्द केसीको अनशन, समर्थन गर्नुछ।।
या’ अनशन जनताको लागि, व्यक्तिकालाई हैन।
लोभी, भ्रष्ट ओली सरकार, माग सुन्दिन्या छैन।।’
पछि उनले थपे- केसी त्रिवि शिक्षण अस्पतालका प्राध्यापक डाक्टर हुनुहुन्छ। उहाँको आन्दोलन सही छ। अहिले राजनीति आरोप प्रत्यारोपको भयो। हेर्नुस् जनता सबैका हुन्। कांग्रेस, कम्युनिष्ट, पञ्च सबैका।
सरकारले सबैको हितको लागि सोच्नुपर्ने हो। आजसम्मका सबै सरकारले गोविन्द केसीका माग पुरा गरेनन्। अहिलेको सरकार पनि आफ्ना मान्छे पोस्ने दाउमा छ। हिजो आफ्नो सरकार हुँदा केसीका माग पुरा नगर्ने कांग्रेस आज उहाँको पक्षमा देखिन्छ। यो धुर्तता हो। उहाँ गरिब जनताको लागि लडिरहनु भएको छ। मेरो शत प्रतिशत समर्थन छ। मैले पहिले र अहिले उहाँलाई एकैनाशले हेरेको छु।
जुम्ला-रारा अल्ट्रा म्याराथनको ५९ किलोमिटरको प्रतियोगितामा प्रथम भएका सिँजा लुमका दुर्ग बहादुर बुढाले सुरूमै गुनासो गरे, ‘कबड हल जस्तो चिसो ठाउँमा उहाँलाई राखेको सुन्दा निकै दु:ख लाग्यो। यति बेला उहाँ हामी सबैको लागि, विशेष गरी जुम्ला र कर्णालीका मान्छेहरुका छोराछोरीले डाक्टर पढ्न पाउनुपर्छ भनिरहनुभएको छ। यो त प्रदेश नं. ६ को लागि समेत हो। त्यसैले यतिवेला हामी सबैले उहाँलाई हेल्प गर्नुपर्छ।’
सोही प्रतियोगिताको महिलातर्फ प्रथम भएकी जुम्ला पातरासीकी अन्तर्राष्ट्रिय धावक सुनमाय बुढाले पनि दौडिदा दौडिदै डा. केसीबारे सुनेकी थिइन्। भेट्न जान नपाएकोले दु:ख मनाउ गरिन्।
शिक्षक जगदीश न्यौपानेले अहिलेको माहोलबारे आफ्ना कुरा यसरी सुनाए- डा. गोविन्द केसी को हो? भन्नेहरू आज उनका लागि सडकमा उत्रिएका छन्। बिस्तारै सबैतिर उनकै चर्चा र चिन्तन हुँदैछ। यो व्यक्ति साँच्चिकै जुम्ली जनताको पक्षमा वकालत गर्न यहाँ आएको हो, यसमा समर्थन गर्नुपर्छ भनि सबै नागरिकले जोड गरेका छन्।
जुम्ला बहुमुखी क्याम्पस प्रमुख बसन्तराज भण्डारीले सरकारको गतिविधिबारे टिप्पणी गरे, ‘पहिला पहिला अनशन काठमाडौंमै हुने भएकाले सरकार चासो देखाउँथ्यो तर अहिले उति चासो दिएको छैन। वार्ता भनेको छ। हुँई बोलाको छ तर त्यो डा. केसीबाट सम्भव देखिन्न। सरकार यतै आउनुपर्ने हो। शक्तिशाली आयोगको कुरा पनि मिलेको लाग्दैन।’
जुम्ला तलिचौरका किसान भूमिनन्द आचार्यले डा. केसी जुम्ला आउने खबर रेडियोबाट थाहा पाएका हुन्। उनलाई केसीका सबै माग जायज लागेका छन्। सबैले बिना हिचकिचाहट समर्थन गर्नुपर्ने ठानेका छन्। ‘हामी किसानहरु काठमाडौंमा आफ्ना छोराछोरी पढाउन सक्दैनौं। विदेश त हाम्रो सपना हो। उपचार पनि हाम्रो लागि कठिन विषय छ। यही आएर हाम्रै लागि लडेका डा. केसी त हाम्रा देउता हुन,’ उनले भने।
फोटो पत्रकार सरोज शाहीले भने अरु केही चाइने थिएन एकै प्रतिष्ठानमा सस्तोमा डाक्टर पढाई हुने मात्रै भए पनि धेरै हुने थियो। अनौंपचारिक बसाईमा उनले प्रकट गरेको आशा हो यो।
गफगाफमै एक सत्तपक्षका गाउँपालिका अध्यक्षले केसीले के खोजेका हुन् खै? केही थाहा पाउन सकिएन मात्रै भने।
उनी खास बोल्न चाहदैन थिए। किनभने यतातिरका सत्तापक्षका केही व्यक्ति आरोपमा उत्रिएका छन् त केही मौनताले मार्दैछन्। सत्तापक्ष र केही प्रतिपक्ष समेत डा. केसीको विषयमा मौन देखिएका छन्।
नागरिक समाज जुम्लाका अध्यक्ष राज बहादुर महत डा. केसी जुम्ला आउने कुरा दुई तीन महिना पहिले नै थाहा पाएको सुनाउँछन्। ‘उहाँ मेडिकल शिक्षा सुधारको पक्षमा हुनुहुन्छ। हरेक प्रदेशमा कम्तिमा एउटा मेडिकल कलेज हुनुपर्छ भन्ने माग साह्रै राम्रो छ। चिकित्सा शिक्षाको स्नातकोत्तर तह सबै ठाउँमा (निजी कलेजमा पनि) पुरै नि:शुल्क गराउनु पर्ने माग उचित छ,’उनले भने, ‘उहाँ जुम्ला आउनुभन्दा पहिला सबै नागरिकको उत्साहपूर्ण सहभागिता होला भन्ने मैले सोचेको हुँ तर हाम्रो जस्तो सानो ठाउँमा सबै बुद्धिजीवीपनि एउटा न एउटा राजनीतिक दलमा लागेको हुनाले समस्या भयो। बुद्धिजीवीहरु दलगद स्वार्थ भन्दा माथि उठ्न नसक्नु नै समस्या हो। तर महिलाहरु समेत सडकमा स्वतस्फूर्त आउन थालेपछि अरुलाई पनि सडकमा आउन कर लाग्यो।’
केसी अनशनको पन्ध्रौं दिनको साँझ घर पुग्दा पंतिकारकी आमाले सोधिन् ‘भाउअ... त्यै मान्ठन् (डा. केसीलाई) क्या गर्याछुन् त?’ केही नाई आजसम्म पनि भोकै छन्।
पछि आमाले प्रतिक्रिया जनाइन् ‘कस्ता रणका पापी जुम्ली होनन्’, आमाले डा. केसी जुम्लीका कारणले अनशन बसेको बुझिन् या जुम्ली सबैले सहयोग नगरेकोले केसी भोकै बस्नुपरेको बुझिन् थाहा भएन। तर, आमाहरु पनि डा. केसीबारे छलफल गर्न थालेछन् खुसि लाग्या। अनि आमाले फेरि सोधिन्, ‘पुलिसले तोकनपुनि कुट्या गरे धै?’ त्यस्तो केही हैन अलिअलि हात हालाहाल भएको हो। खास चोट लागेन।
पहिलो दिन पुलिसको लाठी खाने हामी पनि थियौं। यो कुरा आमालाई थाहा भैसकेको रहेछ।