जिल्ला अस्पताल पाँचथरका स्वास्थ्यकर्मीहरूले फिदिम नगरपालिकाले तलब भत्ता नदिएको भन्दै आन्दोलित बनेका छन्।
जिल्ला अस्पतालका कर्मचारीहरूले २०७४ फागुनदेखि आफ्नो तलब नदिएको भन्दै शुक्रबार जिल्ला प्रशासन कार्यलय पाँचथरमा ज्ञापनपत्र बुझाएका छन्।
नगरपालिकाले अस्पतालमा कार्यरत स्थायी कर्मचारी, मन्त्रालयबाट खटिएको करार सेवाका कर्मचारी, नर्सिङ कर्मचारी तथा पारामेडिकल कर्मचारीहरूको आवश्यक तलब भत्ता नपाएका जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी नारायण जोशीले जानकारी दिए।
कर्मचारीहरूले तलब निकासाका लागि फिदिम नगरपालिकालाई २४ घण्टे अल्टिमेटम समेत दिएका छन्।
बजेटको कमीले समयमा तलब निकासा गर्न नसकिएको कारण जनाउँदै नगरपालिकाले तलब रोकेको अस्पतालका कर्मचारीहरुको गुनासो छ। फागुन देखिनै तलब नपाइरहँदा फिदिम नगरपालिकाले असार महिनासम्मको तलब पठाएको भनेर एसएमएस पठाएको तर बैंक खाता चेक गर्दा अपुरो तलब प्राप्त भएकोले कर्मचारी आन्दोलित हुनुपरेको जिल्ला स्वास्थ कार्यालयका सूचना जोशीले जानकारी दिए ।
आफूहरूले विगतमा पनि तलब निकासाका लागि नगरपालिकालाई पटक पटक आग्रह गरे पनि नगरपालिकाले विभिन्न कारण देखाएर तलब नदिएको कर्मचारीहरूको गुनासो छ।
कर्मचारीहरूले ५ महिनासम्म पनि धैर्यताका साथ दैनिकी कार्य सञ्चालन गरेको तर प्राप्त तलब पनि अपुरो भए पछि कर्मचारी आन्दोलित भएको जोशीको भनाइ छ ।
जिल्ला अस्पताल पाँचथरमा ल्याब सेवा, फार्मेसी, एक्स रे, नवजात शिशु उपचार सेवा, आकस्मिक सेवा, बृहत्तर आकस्मिक प्रसुति सेवा लगायतका सेवा २४ घण्टै सुचारु भइरहेको पनि उनले जानकारी दिए।
यसरी सबै सेवाहरु दिइरहँदा पनि कर्मचारीको नाइट भत्ता, जोखिम भत्ता, आमा सुरक्षा इन्सेन्टिभ, चिकित्सकले पाउने भत्ता कात्तिकबाटै नपाएको कर्मचारीहरूको गुनासो छ ।
आफूहरू तलब नपाए पनि ऋण गरेरै खर्च टारिरहेको र सर्वसाधारणलाई सेवा प्रवाह गरिरहेको अवस्थामा नगरपालिकाले ऋण तिर्ने गरी पनि तलब निकासा नगरिदिएकोमा उनीहरूले गुनासो गरे।
अस्पतालजस्तो संवेदनशील क्षेत्रको जायज मागको समयमा सुनुवाइ नभए कडा आन्दोलनमा उत्रिने कर्मचारीहरूले बताएका छन् ।
यता फिदिम नगरापलिकाका प्रमुख प्रशासकीय अधिकृत गुरुत्त सुवेदीले भने तलब, पोसाक भत्ता, महङ्गी भत्ता सबै असारसम्मको पुरै गइसकको दाबी गरेका छन् । सुवेदीले अन्य भत्ताका विषयमा भने छलफल भइरहेको बताएका छन्।