प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रज्ञा प्रतिष्ठानको नवर्निर्मित पुस्तकालय भवनको उद्घाटन गरेका छन्।
नेपाल प्रज्ञा प्रतिष्ठानस्थित ‘पुस्तकालय भवन र प्रज्ञा आधुनिक छापाखाना उद्घाटन तथा २०५ औं भानु जयन्तीका अवसर’मा उनले नेपाल संस्कृति, कला र ज्ञानमा धनी रहेको बताएका छन्।
उनले नेपाल आर्थिक अवस्थामा पछि रहे पनि अन्य देशभन्दा संस्कृतिमा धनी रहेको बताए।
‘ठूला ठूला देशमा नभएको भाषा, संस्कृति हामीसित रहेको छ’, उनले भने ‘हाम्रा सहर कलामय छन्। यहाँका झ्याल ढोका, भित्ता कलामयताले सजिएका छन्।’
उनले प्रतिष्ठान राष्ट्रका प्रबुद्घ व्यक्तिको समूह रहेकाले यसलाई खँदिलो बनाउन आवश्यक रहेको भन्दै प्रतिष्ठानलाई प्रभावकारी बनाइने बताए।
उनले भानुभक्त आचार्यले नेपालको राष्ट्रियता भाषिक सुत्रमा बाँध्ने काम गरेको भन्दै नेपालको भाषा र साहित्यमा उनले उल्लेखनीय योगदान पुर्याएको बताए।
कार्यक्रममा सहरी विकास तथा भवन निर्माण विभागका डिभिजन प्रमुख वसन्तकुमार राईले कूल रु चार करोड १२ लाख २६ हजार रुपैयाँमा तीनतले पुस्तकालय भवन निर्माण गरिएको जानकारी गराए।
कूल १२ वटा कोठा रहेको उक्त भवनमा किताब बैंक, अध्ययन कक्ष र विद्युतीय पुस्तकालय रहेका छन्। पुस्तकालयमा भाषा, संस्कृति र अन्य विषयका करीब ४० हजार पुस्तक रहेको प्रतिष्ठानका प्रशासन प्रमुख ज्ञानहरि अधिकारीले जानकारी गराए।
यसैगरी, प्रधानमन्त्री ओलीले आजै प्रज्ञा छापाखानाको उद्घाटन गरे। जर्मनीबाट रु ११ करोड रुपैयाँमा खरिद गरी ल्याइएको उक्त छापाखानामा नेपाली भाषा तथा साहित्य सम्बन्धी पुस्तक छापिने प्रशासन प्रमुख अधिकारीले बताए।रासस