माई इन्भेष्टमेन्ट कम्पनीका सञ्चालक अनिल गजमेर पक्राउ परेका छन्। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले सञ्चालक गजमेरलाई आइतबार साँझ ठगी आरोपमा काठमाडौंबाट पक्राउ गरेको हो।
गजमेरले विभिन्न व्यक्तिलाई ठगी गरेको उजुरीको आधारमा पक्राउ गरिएको परिसरका डिएसपी मोहनकुमार थापाले बताए। ‘रकम ठगी गरेको उजुरी परेपछि अनुसन्धानको लागि नियन्त्रणमा लिएका हौँ,’ डिएसपी थापाले भने।
गजमेरविरुद्ध एक महिलाले ३५ लाख रुपैयाँ ठगी गरेको उजुरी प्रहरीमा दिए पछि उनलाई प्रहरीले पक्राउ गरेको हो।
गजमेरले केही समयदेखि काठमाडौंको कालिका टावरमा माई कम्पनी सञ्चालन गर्दै आएका छन्।
सुनसरी इनरूवा १ घर भइ हाल काठमाडौं-४ वालुवाटार बस्ने दिलबहादुरका छोरा ४४ वर्षीय गजमेरले माई इन्भेष्टमेन्ट कम्पनी लिमिटेड र ब्राइट इन्भेष्टमेन्ट लिमिटेड कम्पनी नामका दुई वटा कम्पनीदोलेर कम्पनीका सञ्चालक अध्यक्षको हैसियतमा ४ करोड ३१ लाख ७ हजार रकम ठगी गरेको आरोप उनीमाथि लागेको छ।
माई इन्भेष्टमेन्ट कम्पनी लिमिटेडको नामबाट ५४ लाख रूपैयाँ र ब्राइट इन्भेष्टमेन्ट कम्पनिका नामबाट ३ करोड ७७ लाख ७ हजार रूपैयाँ ठगी गरेको अभियोग लागेको छ।