वर्षाले अर्घाखाँचीका ग्रामीण सडकमा गाडी चल्न नसक्दा स्थानीयले सास्ती खेप्नु परेको छ।
जिल्लाको ठाडा अमराईदेखि जुकेना जलुके हुँदै भालुवाङ पुग्ने सडकखण्ड मर्मत गरिएता पनि सडकमा ढल र नाली कटान नहुँदा पानी पर्नासाथ सडकमा गाडी चल्न छाडेका छन्। जसले गर्दा स्थानीयलाई आवातजावतमा समस्या भइरहकेको छ।
हिउँद महिनामा नगर तथा वडामा आउने अनुदान रकमले गाउँ गाँउमा नयाँ बाटो खोल्ने तर गाउँ पुग्ने मुख्य सडकको स्तरोन्नति गरी ढल निकास,नालीकटान गरी वर्षयामको समयमा पनि गाडी चल्न सक्ने गरी सडक निर्माणमा ध्यान दिन नसक्दा बर्सेनि नागरिकले दुख पाउने गरेको स्थानीयको गुनासो छ ।
टोल टोलमा नयाँ ट्रयाक खोल्न र मर्मत गर्न केही वर्षका लागि बन्द गरी मुख्य सडक निर्माणमा ध्यान दिनु पर्ने स्थानीयवासी बताउँछन् । आफू जनप्रतिनिधि भएर आइसकेपछि गाउँ गाँउमा नयाँ सडक खोल्ने र पुराना सडक मर्मत गर्ने काम भएकाले वडामा आएको अनुदान रकम खर्च भएको सितगंगा ६ का वडा अध्यक्ष रिषी रेश्मीले बताए। तर यो आर्थिक वर्षदेखि साना योजनाहरूमा पैसा खर्च गर्ने काम बन्द गरिने र ठाडा अमराई जुकेना भालुवाङ सडकखण्डको स्तरोन्नतिको लागि नगरबाट १ करोड २० लाख छुट्टयाएको र प्रदेशबाट ९१ लाख रकम छुट्टिएको भन्दै सडक कालोपत्रे गर्न केन्द्रमा पनि रकमको माग गरिने र नपुगेको खण्डमा सम्बन्धित वडामा आउने रकम पनि खर्च गरेर आगामी २ वर्ष भित्र जुकेनाको सिबा दहसम्म ग्राभेल गरी कालोपत्रे गर्ने लक्ष्य रहेको उनले जानकारी दिए।
‘अहिले पानी पर्नासाथ बाटो बन्द हुन्छ। नागरिक खोलानाला नभनी ठाडा अमराईबाट चौध , पन्ध्र घण्टाको बाटो भारी बोकेर पैतल हिँडेर गन्तव्यमा पुग्न बाध्य छन्,’ अध्यक्ष रेश्मीमगरले भने,‘ यि समस्यालाई मध्यनजर गर्दै सडक निर्माण कार्यलाई जोड दिनेछौं।’
जनप्रतिनिधि भएर आएपछि विद्युत नपुगेको गाउँ गाँउमा विद्युतीकरण भएको र दुई दर्जन बढी खानेपानी योजनामा रकम खर्च भएकाले अबका दिनमा मुख्य सडक निर्माणमा जोड दिइने अध्यक्ष रेश्मीको भनाइ छ।
जिल्लाको अधिकांश ग्रामीण सडकमा वर्षाले गाडी चल्न सकेका छैनन्।
चक्ला सिद्धारा -भेडामारे सिमलपानी पावरा बिक्रमसोता - सितापुर सुवर्णखाल - सितापुर कैलासे पदमे कालीमाटी जुकेना - गच्छे भालुवाङ- सन्धिखर्क प्युठान- सन्धिखर्क गुल्मी सडकमा पानी पर्नासाथ गाडी चल्न सक्दैनन् ।
गाडी नचलेपछि लामो समय पैदल हिँडेर नागरिक गन्तव्यमा पुग्न बाध्य छन् ।