हनुमान ढोका क्षेत्रमा रहेको ऐतिहासिक स्मारक ‘गद्दी बैठक’ को प्रधानमन्त्री केपी शर्मा ओलीले उद्धघाटन गरेका छन्।
२०७२ सालकाे भूकम्पपश्चात क्षतिग्रस्त उक्त बैठक जीर्णोद्धारपश्चात उद्धघाटन गरिएको हो।
गद्दी बैठकको जीर्णोद्धार मियामोटो ग्लोबल डिजास्टर रिलिफको सहकार्यमा गरिएको हो।
९ महिनामै जीर्णोद्धार गरिएको बैठकलाई ‘रेट्रोफिटिङ’ गरेर पुरानौ स्वरूपमा निर्माण गरिएको हो।
निर्माणको क्रममा सुर्की, चुना र इँटा लगायतका सामग्री प्रयोग गरिएको छ। यसको लागि अमेरिकाको सांस्कृतिक संरक्षणसम्बन्धी कोषले सात लाख अमेरिकी डलर अनुदानमा गरेको हो।
बैठक पुरानै शैलीमा फर्कदा आफ्नो मनोबलसमेत फर्किएको प्रधानमन्त्री ओलीले बताए।
‘हामी राजनीतिक संकटबाट गुज्रिरहेको बेला नै भूकम्प आएको थियो,’ उनले भने, ‘त्योबेला हामी एक्लोजस्तै थियौं। यही समयमा अमेरिकी दूतावासले सहयोग गरेको हो।’
त्यस्तै, सांस्कृतिक पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारले सन् २०२० मा हुने पर्यटन वर्षका लागि पुनर्निर्माण विशेष भएको बताए।
अमेरिकाका कार्यवाहक राजदूत पिटरले नेपाल र अमेरिकाका लागि यो जिर्णोद्धार इतिहासकै दस्तावेज भएको उल्लेख गरे।
उनले नेपालका अन्य सम्पदामा पनि सहयोग भने बाचा गरे। सन् १९०८ मा निर्माण भएको यो बैठक राणा प्रधानमन्त्री चन्द्र शम्शेरले निर्माण गरेका हुन्।
युरोपियन शैलीमा निर्माण भएको बैठकले काठमाडौं सभ्यतासँग जोडिएको कुमारी जात्रा र अन्य पर्वसँग पनि सम्बन्ध राख्छ।