रसियामा जारी विश्वकप फुटबलमा अर्जेन्टिनाका फ्यान रहेका पाँचथरका एक युवकले आत्महत्याको प्रयास गरेका छन्।
गएराति भएको खेलमा क्रोएसियासँग ३–० गोल अन्तरले अर्जेन्टिना पराजित भएपछि हारको पीडा सहन नसकेर जिल्लाको याङवरक गाँउपालिका ५ का २० वर्षीय रामकुमार तावाले आत्महत्या प्रयास गरेका हुन्।
उनका भाइ लक्ष्मणका अनुसार खेलकुदका निकै हिमायति रामले अर्जेन्टिनाको हारपछि रातिदेखि नै पटक पटक आत्महत्या प्रयास गरिरहेका थिए।
‘म ब्राजिलको पक्षमा वकालत गर्थे भने दाई अर्जेन्टिनाका पक्षमा वकालत गर्थे, यसैबीच गएराति अर्जेन्टिनाले क्रोएसियासँग पराजित भएपछि उनी निकै भावुक बने,’ लक्ष्मणले भने ।
दिनभरी आफूसँगै रहेका दाजुले एक्लै हुनासाथ दिउँसो ३ बजे घरको तलामाथि चढेर घाँटीमा डोरी लगाई आत्महत्या प्रयास गरेका थिए।
डोरी लगाएर सिलिङमा झुण्डिएपछि आफूहरूले देखेर उद्धार गरी अस्पताल ल्याएको पनि उनको भनाइ छ ।
गम्भीर अवस्थामा रहेका तावाको पाँचथर जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि झापातर्फ ‘रेफर’ गर्नका साथै घटनाको अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।