अस्पताल आउने बिरामीलाई सहुलियत औषधी दिन २२ वटा सरकारी अस्पतालले आफ्नै फार्मेसी खोलेका छन्।
सरकारलाई गत आर्थिक वर्ष २३ वटाअस्पताललाई फार्मेसी सञ्चालनका लागि सिड मनी पठाएकोमा २२ वटा अस्पतालले फार्मेसी खोलेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
‘गत वर्ष अञ्चल अस्पतालभन्दा माथिका अस्पताललाई आफ्नै फार्मेसी सञ्चालन गर्न सिड मनी पठाएका हौं। २३ मध्ये २२ वटा अस्पतालले फार्मेसी खोलिसकेका छन्। एउटा अस्पताल प्रकृयामा छ,’ मन्त्रालय प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले भने,‘सिड मनी पठाएकामध्ये महाकाली अञ्चल अस्पतालले मात्र फार्मेसी खोल्न सकेको छैन।'
उनले फार्मेसीको सेवाको गुणस्तरबारे अनुगमन पनि गरिहेको बताए।
मन्त्रालयले १ क्षेत्रीय, २ उपक्षेत्रीय, १२ अञ्चल, ६ केन्द्रीय अस्पताल र २ प्रतिष्ठानलाई चार करोड २५ लाख रकम पठाएको थियो।
अस्पतालका शैयाका आधारमा सुरू गर्न अनुदानस्वरुप दिइएको र पछि आफ्नै आम्दानीबाट फार्मेसी चलाउनु पर्ने मन्त्रालयले जनाएको छ।
मन्त्रालयले कान्तिबाल अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, मानवअङ्ग प्रत्यारोपण केन्द्र र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई आफ्नै फार्मेसी खोल्न ३० लाख सिड मनी उपलब्ध गराएको छ भने पश्चिमाञ्चल र मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पतालले २५ लाख पठाएको थियो।
नारायणी, राप्ती र डडेल्धुरा उपक्षेत्रीय अस्पताललाई २० लाख उपलब्ध गराएको छ। मेची, कोसी, सगरमाथा, जनकपुर लुम्बिनी, धौलागिरी, राप्ती, भेरी, सेती र महाकाली अञ्चल अस्पताललाई १५ लाख सिड मनी दिइएको थियो।
त्यसैगरी, मानसिक, भक्तपुर, भरतपुर अस्पताललाई १५ लाख उपलब्ध गराइएको छ। सरकारी अस्पतालमा निजी औषधि पसल हुँदा बिरामी ठगिने तथा गुणस्तरीयता नहुने भन्दै सरकारले सबै सरकारी अस्पतालमा आफ्नै औषधी पसल खोल्न पहिलो चरणमा अनुदान स्वरूप सो रकम दिइएको मन्त्रालयले जनाएको छ।