काठमाडौं उपत्यकाका नेवार समूदायले इनार, ढुंगेधारा, कुवालगायतका पानीको स्रोतको सरसफाई गरी मंगलबार सिठी नखः चाड मनाएका छन्।
यसै अवसरमा स्थानीयबासीले ऐतिहासिक तथा पुरातात्विक महत्वको रानी पोखरीको सफाई पनि गरेका छन्। मंगलबार बिहानै रानी पोखरीमा पुगेर त्यहाँको सफाई गरिएको हो।
पूर्व संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री हिसिया यमीसहित सफाई अभियानमा सहभागी भएकाहरुले रानी पोखरीको पुनर्निर्माणका ढिलाई नगर्न काठमाडौं महानगरपालिकाको गम्भीर ध्यानाकर्षण गराएका छन्। पूरानै शैलीमा रानी पोखरीको पुनर्निर्माण गर्न दवाव दिन पनि सिठी नखः पर्वको अवसर पारेर रानी पोखरीको सफाई अभियानमा सहभागी हुनु परेको स्थानीय आलोकसिद्धी तुलाधरले बताए।
यसै अवसरमा फूलमा चामलको पिठोको रोटी, मास, केराउ र मुगीको बारा, चटामरी खाने चलन पनि छ। लिच्छवी कालदेखि यो चाड मनाउने परम्परा रहि आएको जनविश्वास छ। यो चाडमा उपत्यका भित्रको गढ, किल्ला, पर्खाल इत्यादिको मर्मत तथा सफाई गर्नुपर्ने परम्परा रहेको भक्तपुर दरबार क्षेत्रको बाहिरी भित्तामा राजा यक्ष मल्लले राखेको ताम्रपत्रमा समेत उल्लेख गरिएको छ।
पानीको स्रोत मासिदै गएको काठमाडौं उपत्यकामा यसको संरक्षणका लागि पनि यो पर्वको विशेष महत्व रहेको विज्ञहरुले बताएका छन्।