साढे ३३ किलो सुन प्रकरणका अभियुक्त राजेन्द्रमान शाक्यले न्युरोड र दरबारमार्गमा सञ्चालन गरेको आरके ज्वेलर्समा गृह मन्त्रालयले छापा मारी सबै सुनचाँदीलगायत महत्वपूर्ण काजगात जफत गरेको छ।
सह सचिव ईश्वरराज पौडेल नेतृत्वको विशेष अनुसन्धान टोलीले सोमबार दिउँसो छापा मारेर सबै सुनचाँदी लगायतका गरगहनासहित सबै सामग्री जफत गरेर पसलमा शीलबन्दी गरेको हो।
आरके ज्वेलर्सका नाममा न्युरोड विशालबजारमा रहेका दुई पसल र दरबारमार्गको एउटा पसलमा अनुसन्धान टोलीले विभिन्न निकायको रहोबरमा छापा मारेको थियो।
‘पसलबाट सुन र चाँदीसहित विभिन्न ३५ प्रकारका धातु जफत गरिएको छ। जसको मुल्य २० करोड आसपास हुनसक्ने अनुमान गरेका छौं,’ समितिका एक सदस्यले जानकारी दिए।
ती सदस्यका अनुसार जफत गरिएको सुनसहितका गहनाको बिस्तृत अनुसन्धान गरिनेछ।
संगठित अपराध ऐनअनुसार अभियुक्तको सम्पत्ति पनि जफत गर्नुपर्ने भएकाले शाक्यको धनमाल जफत गरिएको हो।
यसैबीच तीनैवटा पसलको कारोबार आजैदेखि बन्द भएको समितिका ती सदस्यले सेतोपाटीलाई बताए।
‘अभियुक्त भएको कारण उसको कारोबार केही पनि नहोस् भनेर हामीले सबै महत्वपूर्ण कागजात र भएका सामानहरू बरामद गरेका छौ। यी सामानहरू सुरक्षित राखेर हामी अनुसन्धान गर्नेछौ,’ ती सदस्यले भने,‘यो अनुसन्धानबाट के देखिन्छ त्यो भोलिका दिनमा थाहा होला तर यिनका तीनवटै पसल दरबारमार्ग र न्यूरोडमा भएका सबै कागजात र भएको सामानहरू सिल गरेर बरामद गरेका छौ। आजबाट आरकेको कारोबार केही हुन्न।’
सरकारद्वारा गठित उच्च समितिले गोरे समूहले भित्र्याउने अवैध सुनमा श्रेष्ठको पनि लगानी रहेको औल्याएको थियो। पसलमा भएका सुनका सबै कागजात हेरेपछि मात्र यसबारे थप विवरण भन्न सकिने ती सदस्यले बताए।
अनुसन्धान समितिसहित कर कार्यालय, आपूर्ति व्यवस्थापन विभाग, सुनचाँदी व्यवसायी महासंघका प्रतिनिधि तथा वडाका जनप्रतिनिधि पनि छापा मार्ने काममा सहभागी थिए ।
ज्वेलर्सका सञ्चालक शाक्य शाक्य लामो समयदेखि सुन तस्करीमा संलग्न रहेको समितिले ठकर गरेको छ। साढे ३३ किलो सुन प्रकरणका अभियुक्त उनी करिब दुई महिनाअघि पक्राउ परेर अहिले मोरङ जिल्ला कारागारमा छन्।
शाक्यका बैंक खाता तथा घरजग्गा यसअघि नै रोक्का भइसकेको छ। जफत गरिएको सुनका गहनाहरु अदालतमा पेश गर्ने समितिको तयारी छ।नियन्त्रणमा लिइएको सबै सामग्री मोरङ जिल्ला अदालतमा बुझाइने भएको समितिका ती सदस्यले जानकारी गराए। ‘तीन वटै पसलबाट जम्मा गरिएको सामग्री मोरङ पठाइनेछ,’ ती सदस्यले भने।
समितिले यसअघि शुक्रबार प्रहरीले सुनका अर्का लगानीकर्ता मोहनकुमार अग्रवालको घरमा छापा मारेर सुनसहित महत्वपूर्ण कागजात बराबद गरेको थियो।
गत माघ ९ गते दुबईबाट नेपाल ल्याइएको अवैध साढे ३३ किलो सुन गायब भएपछि यो विषयले चर्चा पाएको हो।
त्यसैसँग जोडेर मोरङका सनम शाक्यको हत्या भएपछि गृह मन्त्रालयले एउटा उच्च अनुसन्धान टोली बनाएको हो।
टोलीकै सिफारिसमा यसअघि ६३ जनालाई दोषी ठहर गरी अनुसन्धान अगाडि बढाएको छ।
यसैबीच प्रकरणका अभियुक्त चुडामणी उप्रेती गोरेसहित ३ जनालाई थप अनुसन्धानका लागि काठमाडौं ल्याइएको छ।
मोरङ कारागारबाट गोरेसहित भुजुङ गुरुङ र छिरिङ वाङ्ग्दी गुरूङको सम्पत्ति छानविन गर्न काठमाडौं ल्याइएको सम्पत्ति शुद्धीकरण विभागले जनाएको छ।
गोरसहित छिरिङ र भुजुङमाथि आजबाट अनुसन्धान सुरू गरिने सम्पत्ति शुद्धीकरण विभागका सूचना अधिकारी विनोद लामिछानेले जानकारी दिए। तीनै जनालाई केन्द्रीय कारागार सुन्धारामा राखिने भएको छ।