जिल्ला अदालत मोरङले तस्करीको ३३ किलो सुन र सनम शाक्य हत्या काण्डका मुख्य अभियुक्त चुडामणि उप्रेती गोरेलाई पुर्पक्षका लागि थुनामा पठाएको छ।
न्यायाधीश नारायणप्रसाद शर्माको इजलासले तत्काल भेटिएका प्रमाणका आधारमा गोरेलाई थुनामा राखेर पुर्पक्ष गर्नुपर्ने आदेश दिएको हो।
यसअघि आजै गोरेको बयान सकिएको थियो। बयानपछि बहस भएको थियो।
बयानमा गोरेले ठूलो सुन तस्करी गर्ने आफ्नो हैसियत नै नभएको बताएका छन्।
‘म कुनै ठूलो मान्छे होइन, मभन्दा माथि अन्य नै थिए। तर प्रहरी सेटिङ मिलाउने भने एसएसपी श्याम खत्री हुन्,’ गोरेले भनेका छन्। यही मुद्दामा यसअघि २८ जनालाई पुर्पक्षका लागि थुनामा पठाइएको थियो।
लोहनीलाई चिन्दिनँ, सञ्जेलसँग कारोबार थियो
गोरेले सनमको लास व्यवस्थापन गरिदिएर आफूलाई बचाउन प्रहरीले वचन दिएको बयानमा उल्लेख गरेका छन्।
उनले सनमको लास व्यवस्थापन गर्न डीएसपी प्रजित केसीसँग पैसा डिल भएको बताए।
‘सञ्जेलसँग मेरो चिनजान थियो। उनले घर बनाउदा म सँग ३५ लाख सापटी लिएका थिए,’ गोरेले बयानमा भनेका छन्।
अपराध महाशाखा तत्कालीन प्रमुख एसएसपी दिवेश लोहनीलाई भने चचिनेको गोरेले बताएका छन्।
प्रहरीलाई छलेर आफू भारत भागेको बयानमा स्वीकारेका छन्।
‘सनमको मृत्युपछि मैले बालकृष्ण सञ्जेललाई खबर गरें। प्रतिज केसी र सञ्जेलले मलाई सहयोग गर्छौं भन्दै आए। डिएसपी केसीले मसँग रकमको डिल गरेको हो,’ गोरेले भनेका छन्, ‘तर उनीहरू मलाई बचाउन आएका हैनन् भन्ने लाग्यो अनि म भारत भागें।’
को हुन् गोल्ड डन भनिने गोरे
मोरङको उर्लाबारीका गोरेलाई नेपालमा हुने सुन तस्करीको डन अर्थात् ‘गोल्ड डन’ पनि भनिन्छ। नेता, व्यापारी र प्रहरी उच्च अधिकारीसँगको सम्बन्धका आडमा उनले सुन तस्करी गरिरहेका थिए।
मध्यम वर्गीय परिवारमा जन्मिएका गोरेका बाबु नेपाल प्रहरीका सहायक निरीक्षक थिए।
सुन तस्करीमा लाग्नुभन्दा पहिला उनी दुबई प्रहरीमा जागिरे थिए। त्यही क्रममा दुबईका सुन माफियासँग उनको सम्बन्ध गाँसियो।
केही समयपछि गोरे नेपाल फर्किए।
उच्च तहका नेतासँग हिमचिम बढाउन थाले। उनले प्रभावमा पार्नकै लागि मान्छे हेरेर महंगा उपहार दिए।
स्थानीय तह र संसदीय चुनावका बेला राजनीतिक दलका उम्मेदवारहरूलाई सहयोग गरेको प्रहरी अनुसन्धानमा देखिएको छ। स्थानीय चुनावमा उनले केही नेतालाई गाडी पनि किनिदिएको थिए।
लामो समयदेखि अवैध सुनको कारोबार गर्दै आएका उनी त्यही सम्बन्धका आडमा उम्किँदै पनि आएका थिए।
०७३ पुस २१ गते त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले बरामद गरेको ३३ किलो अवैध सुनका मालिक गोरे नै भएको भरिया र अन्य अभियुक्तले बयान दिएका थिए। उच्च पहुँचकै भरमा त्यतिबेला गोरेको ठाँउमा अन्य केही व्यक्तिलाई कारबाही गरेर उनलाई उम्काइएको स्रोतको दाबी छ।
सिआइबीले सुन तस्करीमा संलग्न ३३ जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा दुई मुद्दा दायर गरेको थियो। मुद्दामा १५ करोड ४० लाख चार हजार आठ सय ८ रुपैंया २६ पैसा र तिर्नुपर्ने भन्सार महसुल र एक करोड ४२ लाख ८३ हजार आठ सय ९२ रुपैंया ४० पैसा गरी कूल १६ करोड ८२ लाख ८८ हजार सात सय रुपैंया ६६ पैसा बराबरको बिगो बमोजिम जरिवाना र बिगो जफतको दाबी माग गरिएको थियो।
उनी खुलमखुला काठमाडौंमा हिँडिरहेका थिए प्रहरीले भने सो मुद्दामा गोरेलाई फरार भनेको थियो।
स्रोतका अनुसार त्यतिबेला गोरेकै डिजाइनमा पक्राउ परेका भरियासँग कनेक्सन भएका मानिसलाई पनि मुछियो।
‘गोरेले जसको नाम दिए उनैलाई मुख्य अभियुक्त बनाइयो जसको भरियासँगै अन्य कारणले टेलिफोन कनेक्सन थियो, सुनसँग थिएन,’ स्रोतले भन्यो।
तस्करीको सुनको मालिक भनेर पोलेका गोरे पहुँचकै भरमा सामान्य कारबाहीबाट उम्केपछि उनको मनोबल बढ्यो। अवैध सुन नेपाल भित्र्याउने क्रम झनै बढ्यो।
फागुन पहिलो साता विमानस्थल हुँदै भित्रिएको ३३ किलो सुन हराएपछि गोरेले सुन लुकाएको आशंकामा आफ्ना मुख्य सहयोगी शाक्यलाई गौरीघाटबाट उठाएर सप्तरी लगेर यातना दिएर हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।
हत्यापछि गोरेले नै प्रहरीलाई फोन गरेर घटना मिलाउन भन्दै मद्दत मागेका थिए। उनको मद्दतलाई स्वीकार गरी महानगरीय प्रहरी महाशाखाको टोली सुनसरी पुगेको थियो।
सुनसरीमा शव फेला पारे पनि महाशाखाको टोलीले मोरङमा लगेर शवको बरामदी मुचुल्का बनाएको स्रोतले बतायो।
प्रहरीकै सूचनाका आधारमा गोरे भागेर भारत पुगेका थिए।