तस्करीको ३३ किलो सुन र सनम शाक्य हत्याका मुख्यअभियुक्त चुडामणि उप्रेती ‘गोरे’ले आफूमाथि लागेको अभियोगलाई अस्वीकार गरेका छन्।
मंगलबार काठमाडौंबाट पक्राउ परेका गोरेको बुधबार मोरङ जिल्ला अदालतमा बयान सुरू भएको छ।
बयानमा क्रममा गोरेले आफू सुन तस्कर नभएको अदालतमा बयान दिएको स्रोतले सेतोपाटीलाई जानकारी दियो।
बयानका क्रममा यसअघिका अभियुक्तले दिएको बयान गोरेलाई सुनाइएको थियो। उनीहरूले सुन तस्करीको मुख्य मान्छे गोरे नै भएको बताएका थिए।
गोरेले ती सबै कुरा आफूमाथि लागेको आरोपमात्र भएको बताए। उनले आफूलाई यो प्रकरणमा मुख्य मान्छे भनेर फसाउन खोजिएको बताए।
'म त सामान्य मान्छे हो ठूला तस्कर अरू नै छन्,' गोरेले भनेका छन्।
सनम शाक्यको हत्या आफूले नगरेको गोरेले जिकिर गरेका छन्।
जिल्ला अदालतका न्यायाधीश नारायणप्रसाद शर्माको बन्द इजलासमा बुधबार बिहानदेखिगोरेको बयान सुरू भएको हो। आज समय नपुगेकाले भोलि पनि उनको बयान हुनेछ।
मानवअधिकारवादीको रोहवरमा राख्न मागबयान नसकिएपछि प्रहरी हिरासतमा रहेका गोरेले आफ्नो ज्यान खतरामा रहेको भन्दै मानव अधिकारवादीको रोहवरमा राख्न अपिल गरेका छन्।
आफ्नो ज्यानमाथि नै खतरा हुन सक्ने भएकाले उनले अदालतमा निवेदन दिएका छन्। प्रहरी हिरासतमा रहस्यमय तवरले मृत्यु भएका नेपाल वायु सेवा निगमका लोडर प्रेमलाल चौधरीको प्रसंग कोट्याउँदै उनले आफूलाई पनि खतरा रहेको निवेदनमा उल्लेख गरेका छन्।
यही प्रकरणमा थाइ एयरका कर्मचारी सानु बनको त्रिभुवन विमानस्थलमा ट्यांकरमा ठोक्किएर मृत्यु भएको थियो।
भागेर बस्दा ज्यानमा खतरा हुने आफन्तको सल्लाहअनुसार नै गोरे आत्मसमर्पण गर्न भारतबाट केही दिनअघि नेपाल आएका थिए। सोही बेला प्रहरीले उनलाई पक्रेको हो।
यसअघि उनले गोरेले छानबिन समितिको बयानमा आफू ठुलो तस्कर नभई सामान्य कामदार रहेको बताएका थिए।