नयाँ शैक्षिक सत्र सुरू भएसँगै सरकारले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वैशाखभर धुमधामसाथ भर्ना अभियान चलायो। प्रधानमन्त्रीसमेत केही विद्यार्थीका अभिभावक बने।
त्यो अभियानको नारा थियो- एक बच्चा भर्ना मेरो सामाजिक दायित्व, पहुँचको सुनिश्चितता र सिकाइमा स्थायित्व।'
तामझामले भर्ना अभियान चलाएपनि विद्यालय उमेरका ठूलो संख्याका बालबालिका अझै पनि विद्यालय बाहिर छन्।
यस वर्ष सात लाख २४ हजार तीन सय ५३ बालबालिका कक्षा १ मा भर्ना भएका छन्।
मन्त्रालयका प्रवक्ता बैकुण्ठ अर्यालका अनुसार विद्यालय भर्ना हुनुपर्ने उमेरका ८८ हजार बालबालिकामध्ये ३४ हजार तीन सय ४४ बालबालिका विद्यालय भर्ना भएको प्रारम्भिक तथ्याङ्क छ।
'विद्यालय बाहिर रहेका ८८ हजारमध्ये ३४ हजार तीन सय ४४ जना विद्यालय भर्ना भएका छन्' अर्यालले सेतोपाटीसँग भने, 'यो तथ्याङ्क अन्तिम होइन। जिल्लाबाट तथ्याङ्क आउन बाँकी नै छ।'
प्रारम्भिक तथ्याङ्कअनुसार ५० हजार हाराहारी बालबालिका अझै विद्यालय शिक्षा बाहिर छन्। जिल्लाबाट तथ्याङ्क पठाउने समय सोमबारसम्म भए पनि सबै ठाउँबाट तथ्याङ्क आइसकेको छैन। जिल्लाका शिक्षा विकास तथा समन्वय एकाइले भर्ना भएका बालबालिकाको तथ्याङ्क पठाएपछि संख्या बढ्ने उनले बताए।
शिक्षा विभागका उपनिर्देशक नरहरि अर्यालले सात सय हाराहारी बिपन्न तथा गरीब बालबालिकाले अभिभावत्व पाएको बताए। प्रधानमन्त्री केपी शर्मा ओली, नेताहरु र कर्मचारीले विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालय भर्ना गरेका छन्।
अभिभाकत्व ग्रहण गरेकाहरुको जिम्मेवारी के रहन्छ? प्रश्नमा अर्यालले भने, 'विद्यालय पोशाक र स्टेशनरी सामग्री व्यवस्था गरिदिनुपर्छ। अधिकांशले व्यवस्था गरिदिनुभएको जानकारीमा छ।'
प्रधानमन्त्री ओलीले मुगुका ५ वर्षे ठिन्ले साङ्मु तामाङलाई बुद्ध मावि माँग्रीमा भर्ना गरे भने सिरहाकी रुपाकुमारी खत्ले मण्डल र पवन मल्लिक डोमलाई राम दुलारी मावि कक्षा १ मा भर्ना गरी अभिभावकत्व ग्रहण गरेका थिए।
विद्यालय शिक्षामा विपन्न बालबालिकालाई भित्र्याउन पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल, बाबुराम भट्टराई, माधवकुमार नेपालले पनि साथ दिएका छन् भने रक्षा मन्त्री ईश्वर पोखरेल, शिक्षा मन्त्री गिरिराजमणि पोखरेल, पर्यटन मन्त्री रवीन्द्र अधिकारी, पूर्व मन्त्री गगन थापालगायतले विद्यार्थीको अभिभावकत्व ग्रहण गरेका छन्।
केन्द्र र प्रदेश सरकारका मन्त्रीहरु, मुख्यमन्त्रीहरु तथा स्थानीय तहका जनप्रतिनिधिले विद्याल शिक्षाबाट बञ्चित बालबालिकालाई अभिभावकत्व ग्रहण गर्दै १ कक्षामा भर्ना गरेका हुन्।
'गाउँगाउँबाट बालबालिकाको अभिभावकत्व ग्रहण गरेको जानकारी अझै विभाग तथा मन्त्रालयमा आइरहेको छ। त्यसैले धेरै बालबालिका विद्यालयभन्दा बाहिर हुँदैनन्,' उनले भने।