राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई थप उपचार निम्ति दिल्ली लगिने भएको छ। एक साताअघि आन्तरिक रक्तस्राव बढेपछि उनलाई अस्पताल भर्ना गरिएको थियो।
ग्रयान्डी अन्तर्राष्ट्रिय अस्पतालको हाइ केयर युनिटमा उपचार भइरहेको उनलाई आज साँझ पाँच बजे दिल्ली लगिने भएको उनको पारिवारीक श्रोतले जनाएको छ।
उनान्सय वर्षीय घिमिरेको मुटु, मिर्गौला र फोक्सोमा समस्या देखिएकाले विगत तीन महिनादेखि अस्पताल लाने-ल्याउने गरिँदै आइएको थियो।
पछिल्ला केही दिनदेखि भइरहेको आन्तरिक रक्तस्राव नरोकिएकाले अब दिल्ली लगिने भएको पारिवारीक श्रोतले जानकारी दिएको छ।
सोमबार प्रधानमन्त्री केपी शर्मा ओली उनलाई भेट्न गएका थिए। घिमिरेको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने बताउँदै आवश्यक परे विदेशै लगेर उपचार गराउने प्रतिबद्वता व्यक्त गरेका थिए।
अस्पतालबाटै उनले राष्ट्रकविको उपचार सम्बन्धमा भारतस्थित सम्बन्धित चिकित्सकलाई टेलिफोन गरी आवश्यक परामर्श पनि गरेका थिए।