दाङमा पहिलो पटक वायु गुणस्तर मापन केन्द्र स्थापना हुने भएको छ।
सगरमाथा सिमेन्ट उद्योग स्थापना भएको क्षेत्र घोराही उपमहानगरपालिका वडा नम्बर २ को रामपुरमा उक्त केन्द्र स्थापना गर्ने तयारी भएको घोराहीका मेयर नरुलाल चौधरीले बताए।
वातावरण मन्त्रालय र वातावरण विभागसँग भएको सम्झौता अनुसार उपकरण जडान गर्न लागिएको हो।
रामपुरमा उक्त वायु गुणस्तर मापक केन्द्र स्थापना गर्ने गरी घोराहीका मेयर नरुलाल चौधरी र विभागका शंकरप्रसाद पौडेलका बीचमा सम्झौता पत्रमा हस्ताक्षर समेत भइसकेको छ।
यन्त्रले अब घोराही सिमेन्ट उद्योगबाट निस्कने धूलो र धूँवा मापन गर्नुको साथै घोराही बजारको समेत वायु प्रदुषणको मापन गर्न प्रयोग गरिने मेयर चौधरीले बताए। करिब १ करोड २५ लाख रुपैयाँको लागतमा वायु गुणस्तर मापन यन्त्र खरिद गरिएको उनले बताए।
सिमेन्ट उद्योगसहित अन्य उद्योगहरूबाट निस्कने धूलो र धूँवाको मात्रा पत्ता लगाएर त्यसलाई न्यूनीकरण गर्ने उद्धेश्यले वायुको गुणस्तर मापन यन्त्र स्थापना गर्न खोजिएको मेयर चौधरीले जानकारी दिए।