सर्वोच्च अदालतले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमण आउनुभन्दा अगाडि पक्राउ परेका सात जनालाई थुनामुक्त गर्न आदेश दिएको छ ।
न्यायाधीश ओमप्रकाश मिश्र र प्रकाशमान सिंह राउतको संयुक्त इजलासले गैरकानूनीरुपमा थुनामा राखेको भन्दै उनीहरुलाई थुनामुक्त गर्न आदेश दिएको हो ।
आदेशमा भनिएको छ, 'निजहरुलाई ३५ दिन म्याद थप गरी थुनामा राखेर अनुसन्धान गर्नुपर्ने औचित्य पुष्टि हुने वस्तुनिष्ठ आधार कारण उल्लेख भएको देखिएन, मनासिव माफिकको कारण र औचित्य पुष्टि नगरी स्वेच्छाचारीरुपमा अनुसन्धानका लागि म्याद थप गरी थुनामा राखेको कार्य गैरकानूनी भएकाले निजहरुलाई थुनामुक्त गरिदिनु ।
भारतीय प्रधानमन्त्री मोदी नेपाल भ्रमणमा आउनुअघि गत वैशाख २५ गते अमर माझी, शिवराज नेपाली, टेकबहादुर सूचीकार, हरिचन्द्र खड्का, टेकबहादुर प्रधान, दलबहादुर थापा र लीलबहादुर बुढाथोकीलाई पक्राउ गरी केही सार्वजनिक (अपराध र सजाय) ऐनअनुसार सार्वजनिक अपराधको मुद्दा चलाइ थुनामा राखिएको थियो ।
आदेशसँगै उनीहरु सोमबारै थुनामुक्त भएका छन् ।