भन्सार छलेर ३८ क्विन्टल सुन नेपाल भित्र्याउन मुख्य भूमिका खेल्ने चुडामणि उप्रेती ‘गोरे’ले नेपालका कुनै पनि बैंकमा खाता नखोलेको तथ्य खुलेको छ।
३३ किलो तस्करीको सुन र सनम हत्याको छानबिन गर्न बनेको समितिको अनुसन्धानले ‘गोरे’को कुनै बैंकमा खाता नभेटेपछि बैंकिङ कारोबार नगरी ‘गोरे’ले करोडौं रकम चलाएको पुष्टी भएको हो।
काठमाडौं, झापालगायत ठाउँमा सुनको कारोबार गर्न कार्यालय खोलेका, कारोबार हेर्न लेखापाल नै राखेका र पैसा गन्न मेसिनसमेत राखेका ‘गोरे’को बैंकमा खाता नभेटिएपछि समिति सदस्य नै आश्चर्यमा परेका छन्।
स्रोतका अनुसार ‘गोरे’ले केही समयअघि मात्र काठमाडौंको गौरीघाटमा एक भव्य बंगला बनाएका थिए।
बंगलाभित्र बियर बारदेखि रिमोट कन्ट्रोलबाट खुल्ने ढोका जडान गरिएको थियो।
सो घर केही समयअघि उनले ५ करोडमा एक जग्गा कारोबारीलाई बेचेको स्रोतले जानकारी दियो। नजिकै ‘गोरे’को अर्को घर पनि छ।
‘गोरे’ले सोह्रखुट्टे क्षेत्रमा १७ आना जग्गा बुवाका नाममा किनेको फेला परेको छ।
प्रतिआना ४२ लाखका दरले किनिएको सो जग्गा समितिले रोक्का गरेको छ।
‘गाेरे’ले पूर्वका विभिन्न स्थानमा पनि जग्गामा लगानी गरेको भेटिएको छ।
‘गोरे’ले सहयोगी माधव घिमिरेका नाममा मोरङको मेक्लाजुङमा १ करोड ७६ लाखमा २६ कट्ठा जग्गा किनेको समितिको अनुसन्धानमा देखिएको छ।
श्रीमती, सासू र अन्य आफन्तका नाममा ‘गोरे’ले केही सम्पत्ति जोडेको खुलेको स्रोतले जानकारी दियो।
यति धेरै सम्पत्ति जोड्ने र करोडौंको कारोबार गर्ने ‘गोरे’ले किन बैंक खाता खोलेनन्?
‘गोरे धेरै चलाख रहेछन्, आफ्नो नाममा सम्पत्ति राख्दा र बैंक खाता खोल्दा केही परिहाले पनि बच्न सहज हुने भन्दै उनले यस्तो उपाय लगाएको हुनसक्छ,’ स्रोतले भन्यो।
कहिले दुबई, कहिले भारत, कहिले मोरङ त कहिले काठमाडौंको गौरीघाट बस्ने गोरेले अन्तर्राष्ट्रिय डलर कार्ड खाता प्रयोग गरेको हुन सक्ने समितिको ठम्याइ छ।
‘गोरे’को बैंक खाता र उनको नाममा सम्पत्ति नभेटिएपछि समिति उनका नातेदार र सहयोगीको सम्पत्ति खोजीमा लागेको छ। अवैध सुनबाट आर्जेको रकम उनीहरूले अन्य क्षेत्रमा लगानी गरेको हुन सक्नेतर्फ समितिले अनुसन्धान अघि बढाएको छ।