रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका ११ स्थित गजिदहियाम नौखनियाँमा पोखरीमा डुबेर एउटै गाउँका चार जना बालिकाको मृत्यु भएको छ।
पौडी खेल्नका लागि पोखरीमा पसेकी एक बालिका डुबेपछि ती बालिकालाई जोगाउन पोखरीमा पसेका अन्य तीन जना बालिकाको पनि पोखरीमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय लुम्बिनीले जनाएको छ।
प्रहरी निरीक्षक पुरुषोत्तम रावल क्षेत्रीले घटनाको प्रारम्भिक विवरण अनुसार डुबेकी बालिकालाई उद्धार गर्न खोज्दा अन्य तीन बालिका पनि डुब्दा चारै जनाको पोखरीमा डुबेर मृत्यु भएको पुष्टी गरे।
प्रहरीका अनुसार मृत्यु हुनेहरूमा लुम्बिनी सांस्कृतिक नगरपालिका ११ की १४ वर्षीया साहदिया खातुन, १० वर्षीया साहिमा खातुन, १० वर्षीया मोमिना खातुन र ९ वर्षीया आविदा खातुन छन्।
मोमिना र आविदा एक परिवारको दाजुभाईको छोरी हुन् भने साहदिया र साहिमा छुटाछुट्टै परिवारका हुन्।
एक गाउँको चार बालिकाको मृत्यु भएपछि गाउँ शोकमा डुबेको छ । शव पोस्टमार्टमका लागि भैरहवा भीम अस्पतालमा ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।