संरक्षण र पूर्वाधार अभावका कारण जीर्ण बन्दै गएको ताललाई चिनियाँ प्रविधि (३३ वटा बोरामा माटोसँगै बाँसको प्रयोग गरी पर्खाल लगाउने विधि) प्रयोग गरी संरक्षण थालिएको हो ।
यस्तो विधिमार्फत तालको क्षेत्रफल र गहिराइ बढाउने, आसपासका क्षेत्रमा तटबन्धन गर्नेलगायत आवश्यक पूर्वाधार निर्माणको काम शुरु गरिएको छ । गाउँपालिका र वडा कार्यालयको सहयोगमा स्थानीय युवा क्लबलगायतका सामाजिक संघसंस्थाको सहयोगमा संरक्षणको काम शुरु गरिएको सूर्यमुखी युवा क्लब घरथोकका सदस्य दीप मगरले जानकारी दिएका छन् ।
'पर्यटकीय सम्भावना बोकेको तालको संरक्षणमा स्थानीयले पहल गरे पनि बजेटको अभाव थियो। अब हामीलाई सहज भएको छ', उनले भने ।
ताल संरक्षणमा गाउँपालिकाले चालू आवमा पाँच लाख विनियोजन गरेको छ भने स्थानीयलेसमेत आर्थिक सहयोग र जनश्रमदान गरेका छन् । करीब ४७-४७ मिटर लम्बाइ, चौडाइ तथा तीन मिटर गहिराइ भएको तालको लम्बाइ चौडाइ बढाएर ५५-५५ मिटरको बनाउन लागिएको वडाध्यक्ष पिपला बुढाथोकीले बताए।
'वडामा रहेका पर्यटकीय सम्भावनाका क्षेत्र चिनाउने प्रयास भइरहेको छ, यहाँका पुराना महत्वका सम्पदाको जर्गेनाको प्रयास गरिएको छ', बुढाले बताए ।
अर्गानिक कृषि खेतीको प्रचुर सम्भावना रहेको देवीस्थानमा रहेका पुराना ऐतिहासिक तथा धार्मिक महत्वका क्षेत्रको प्रचारप्रसारमा समेत स्थानीयले सक्रियता देखाएपछि गाउँपालिकाले समेत प्राथमिकताका आधारमा बजेट विनियोजन गरेको छ ।
गोलो आकारको तालको पृष्ठभूमिमा धौलागिरि गुर्जा, चुरेनलगायतका हिमालको दृष्य अवलोकन गर्न सकिन्छ । हिमालको छायाँ परेको मनमोहक दृष्य अवलोकन गर्न सकिने तालको संरक्षण र प्रवद्र्धन गरी पर्यटकीय गन्तव्यस्थलका रुपमा विकास गर्ने योजना रहेको गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोका बताउँछन् ।
उनले प्राकृतिक ताल र पानीको स्रोतको संरक्षणसँगै पर्यटकीय गन्तव्यका लागि गुरुयोजना बनाउने जानकारी दिए । देवीस्थानमा गुफासहित धार्मिक तथा पर्यटकीय महत्वको मालिका मन्दिरसमेत रहेको छ । छिमेकी धौलागिरि गाउँपालिकाको ऐतिहासिक ताकम कोट मन्दिर जाने पैदलमार्गसमेत रहेको छ ।
देवीस्थानलाई नेपालकै एकमात्र शिकार आरक्ष ढोरपाटनसँग जोड्ने पदमार्ग बनाउनसमेत सकिने स्थानीयको भनाइ छ । देवीस्थानका पशुपालक कृषक ढोरपाटन क्षेत्रका चरन क्षेत्रमा पुग्ने गरेका छन् । यता गाउँपालिकाले मालिका मन्दिर, रुमको लेक, ओखरबोटको सोलेडाँडालगायतका पर्यटकीय गन्तव्य चिनाउने अभियानसमेत शुरु गरेको छ ।