पाँच हप्तादेखि नेपाली काँग्रेस गुल्मीले थालनी गरेको ‘गाउँ जाउँ गाउँमै रमाऔँ’ ५० दिने महाभियानमा पार्टीका प्रतिनिधि एवं भ्रातृ संस्था महिला संघको सक्रियतामा जिल्लाको सिमलटारी, शान्तिपुर, शृंगा, वामीटक्सार, तम्घासलगायतका स्थानमा सामाजिक विकृति विसंगतिविरुद्ध यस्तो अभियान चलाइ रहेका हुन्।
उनीहरूले अभियानअन्तर्गत जातीय विभेद, बाल शोषण, घरेलु हिंसा बन्द गर, जाँडरक्सी नियन्त्रण, सामाजिक विभेदको अन्त्य गरौँ, दाइजो प्रथाको अन्त्य गरौँजस्ता विभिन्न नारा लेखिएका प्ले कार्डसहित र्याली र कोणसभा गर्दै जनचेतनामूलक कार्यक्रम गरिरहेको छ।
र त्यसबाट गाउँ गाउँमा राम्रो प्रभाव परेकाले यसलाई निरन्तरता दिँदै जाने पार्टीका महिला विभाग प्रमुख अमृता कुँवरले जानकारी दिएकी छिन्। ।
पार्टीकी जिल्ला सचिव विष्णुकुमारी सापकोटाले महिला हिंसाको मुख्य कारक भनेकै जाँडरक्सी भएकाले मदिरा सेवन नियन्त्रण गर्न जिल्लाभर चेतनामूलक अभियान सञ्चालन गरिएको र पहिलो चरणमा दलित र गरिबको नजिक पुगेर उनीहरुका जीवन पद्धतिका बारेमा अध्ययन गरेर सामाजिक कुरीति र विभेदको अन्त्य गर्न अभियान केन्द्रित भएको बताइन् ।
त्यस्तै सापकोटाले गाउँ टोलको नाम समेत दलित समुदायको उपहास गर्ने गरी नामाकरण गरिएको कतै कामी टोल, कतै दमाइ र सार्की टोल त कतै धोवी र कुमालजस्ता नामाकरण गरेर उपहास गरिएकोले अब ती गाउँ टोलको नामलाई सुधार गरेर सुन्दर नामाकरण गर्ने तयारीमा आफूहरू रहेको जनाइन् ।
गुल्मी काँग्रेसले दोस्रो चरणको अभियानमा ९३ वटै वडामा ५० दिने महाभियानअन्तर्गत विभिन्न कार्यक्रमसहित अभियान सञ्चालन गरेको हो ।