महानगरपालिकाका ट्राफिक व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख मानबहादुर जिसीको अध्यक्षतामा बसेको बैठकले अस्थायी घर, टहरा र ग्यारेजका सामान हटाउने निर्णय गरेको हो ।
मापदण्ड विपरीत निर्माण गरिएको भौतिक संरचना सात दिनभित्र हटाउन सूचना जारी गर्ने र नहटाएमा कारबाही गरिने ट्राफिक व्यवस्थापन समितिका फोकल पर्सन सुरेन्द्र पौडेलले जानकारी दिए ।
सडकको आसपासमा स्थायी संरचना, वर्कसप तथा जथाभावी निर्माणका सामग्री राख्दा ट्राफिक व्यवस्थापनमा समस्या सिर्जना भएको कारण हटाउन लागिएको पौडेलको भनाइ छ। हटाउन तोकिएको सूचनालाई बेवास्ता गरेमा पाँच हजार रूपैयाँ जरिवाना गरिने निर्णय भएको छ ।
स्थायी संरचना र ग्यारेजले सडक छेउमा जथाभावी सामान राख्दा ट्राफिक व्यवस्थापनमा समस्या पारेकाले हटाउन लागिएको हो । बीच सडकमा रहेका १७ वटा पोललाई एक हप्ताभित्र सडक छेउमा सारिने बताउँदै उनले बीच सडकमा विद्युत्को पोल हुँदा दुर्घटना हुनुका साथै ट्राफिक व्यवस्थापन समेत प्रभावित बनेको बताए ।