अर्घाखाँचीमा तोकिएको समयमा काम नसक्ने ठेकेदारलाई पक्राउ गरेको छ। पक्राउ परेका ठेकेदारलाई सार्वजनिक अपराध ऐन अन्तरगत मुद्दा चलाउने तयारी भईरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।
पक्राउ पर्नेमा सारजमिन डोरपाटन सडकखण्ड अन्तरगत कञ्चनखोलादेखि ढुंगे खोलासम्म सडक निर्माणको जिम्मेवारी पाएका ठेकेदार विवेक पौडेल छन् । उनले २४ पुस ०७१ मा काम गर्ने गरी ०७० सालमा १७ किलोमिटर सडक निर्माण गर्ने ठक्का पाएका थिए ।
तर, अहिलेसम्म उनले दुई किलोमिटर मात्रै सडक निर्माण भएको भेटिएपछि उनलाई पक्राउ गरिएको हो।
स्थानीय जनप्रतिनिधिले समयमै काम सक्न पटकपटक निर्देशन दिँदा समेत उल्टै गाली गलौज गरेपछि उनलाई नियन्त्रणमा लिइएको प्रमुख जिल्ला अधिकारी खेमराज भुसालले सेतोपाटीलाई जानकारी दिए।
यसअघि गृहमन्त्री रामबहादुर थापाले समय सीमाभित्र काम नसक्ने ठेकेदारलाई पक्राउ गरी मुद्दा चलाउन निर्देशन दिएका थिए ।