क्षमताभन्दा बढी यात्रु बोक्ने सार्वजनिक सवारी आइतबार कारवाहीमा परेका छन्।
गृहमन्त्री रामबहादुर थापाको निर्देशन बमोजिम महानगरीय ट्राफिक प्रहरी महाशाखाले आइतबार १ सय ८९ वटा सवारीलाई कारवाही गरेको हो।
महाशाखाले आइतबार उपत्यकाका विभिन्न स्थानमा सार्वजनिक सवारीलाई रोक्दै चेक गर्ने गरेको थियो। चेकिङका क्रममा क्षमताभन्दा बढी यात्रु बोकेको पाएर कारवाही गरेको महाशाखाका एसपी मुकुन्द मरासिनीले जानकारी दिए।
यसरी कारवाहीमा पर्नेमा सबैभन्दा बढी सफा टेम्पो रहेका छन्।
‘अफिस समयमा सार्वजनिक सवारीले क्षमताभन्दा बढी यात्रु बोक्ने गरेको पाइएको छ। १८ सिटभन्दा कम क्षमता भएका सवारीले बढी यात्रु बोकेर यात्रा गरेका पाइयो’, उनले भने।
महाशाखाले पहिलो चरणमा क्षमताभन्दा बढी यात्रु बोक्ने सवारीलाई ५ सय जरिवाना तिराएको छ। दोस्रो पटक पनि क्षमताभन्दा बढी यात्रु बोकेको पाइए ३ हजार रुपैयाँ जरिवाना लगाउने एसपी मरासिनीको बताए ।