कमलहरी मुक्ति अभियानकी अभियन्ता दाङकी २७ वर्षीया उर्मिला चौधरीलाई ‘फ्रिडम फोरम फियर अवार्ड’ प्रदान गरिएको छ। गत जेठ २ गते नेदरल्याण्डको मिडर्वमा एक भव्य समारोहकाबीच उर्मिलालाई उक्त पुरस्कार प्रदान गरिएको हो।
उर्मिलालाई थारु समुदायको कमलहरी प्रथा उन्मुलनमा योगदान पुर्याएको भन्दै उक्त अवार्ड प्रदान गरिएको हो।
दक्षिण एशियामा पाकिस्तानकी मलाला युसफजईलाई सन् २०१४ मा उक्त पुरस्कार प्रदान गरिएको थियो। सन् २०१८ मे १६ तारिखमा नेपालकी उर्मिला चौधरीलाई उक्त अवार्ड प्रदान गरिएको हो।
कमलरी प्रथा अन्त्य र उनीहरूले पढ्न पाउनुपर्ने अधिकारको लागि उर्मिलाले खेलेको भूमिका र प्रतिबद्धतालाई कदर गर्दै अवार्ड प्रदान गरिएको हो ।
उर्मिला नेपालबाट उक्त पुरस्कार प्राप्त गर्ने पहिलो युवती हुन्। प्रत्येक दुई वर्षमा प्रदान गरिँदै आएको ‘फ्रिडम फोरम फियर अवार्ड’ खासगरी मानव अधिकारको क्षेत्रमा काम गर्नेहरूलाई प्रदान गरिँदै आएको छ। यसअघि विश्वका मलाला युसफजई, आङ साङ सुकी, हुसेन इब्राहिम सलेह अल, ग्रहेथ जोह्न इभान, नेल्सन मण्डेला, जर्मन राष्ट्रपति अञ्जिला मार्केल जस्ता हस्तीले यो अवार्ड पाइसकेका छन्।
दाङको गढवा गाउँपालिका वडा नं. ७ मानपुरमा २०४८ सालमा जन्मिएकी चौधरी ६ वर्षको उमेरदेखि नै अरुको घरमा कमलहरी बस्दै आएकी थिइन्। १७ वर्षको उमेरसम्म उनले काठमाडौंमा विभिन्न व्यक्तिका घरमा कमलहरी जीवन व्यतित गरिन्।
विसं २०५७ साउन २ गते सरकारले मुक्त कमैया घोषणा गरे पनि चौधरीले भने २०६३ साल माघ १ गते मात्रै कमलहरी जीवनबाट मुक्त भएको बताइन्। तत्कालीन एफएनसी संस्थाले उनलाई उद्धार गरेको थियो।
२०६३ सालमा कमलहरी जीवनबाट मुक्त भएपछि मात्रै उनले छात्रावास बसेर कखरा सिक्न थालिन्। हाल दाङ घोराहीको विद्या निलकण्ठमा कक्षा १२ को एउटा व्याक पेपर दिएर रिजल्टको प्रतिक्षामा रहेकी उनले बताइन्।
‘अरु सबै क्लियर छ, तर कक्षा १२ मा अनिवार्य अंग्रेजी व्याक लागेको छ। त्यसैले परीक्षा दिएर रिजल्ट प्रतिक्षामा बसेकी छु,’ उर्मिलाले भनिन्।
उर्मिलाको वास्तविक जन्म मिति २०४८ साल भए पनि उनको नागरिकतामा भने २०४३ साल वैशाख १५ गतेको जन्म मिति बनेको छ।
चौधरीको नागरिकता २०६३ सालमा जन्म गाउँ दाङको गढुवा गाउँमै उनी कमलहरी जीवनबाट मुक्त भएकै वर्ष बनेको हो ।
‘गाउँमा नागरिकता बनाउन घुम्ती शिविर चलिरहेको थियो, मेरो हाइट हेरर यो २०४३ सालकै हुनुपर्छ भनेर नागरिकता बनाइ दिए ,’ चौधरीले नागरिकता बनाउँदा क्षण स्मरण गरिन्। ‘५ वर्ष उमेर बढाएर नागरिकता बनाउँदा अभिभावक पनि बोलेनन्, झनै म बोल्न सक्ने अवस्था नै थिइन,’ चौधरीले भनिन् ।
यो समग्र मुक्त कमलहरीको सम्मान हो – उर्मिलाकमलहरी जीवनबाट मुक्त भएपछि उनी कमलरी मुक्ति अभियानमा होमिइन्। उनी लगायतका युवतीहरूको संघर्षले हजारौं युवतीहरूको उद्धार भयो। त्यही संघर्ष र अभियानमा दृढतापूर्वक लागेकै कारण उर्मिलालाई विश्वबाटै छनोट गरेर ‘फ्रिडम फोरम फियर अवार्ड’ नेदरल्याण्डले प्रदान गरेको हो। १० महिना अगाडि नेदरल्याण्डका राजदूत नेपाल आएर उर्मिलालाई भेटेका थिए र उनी पनि पुरस्कारका लागि नोमिनेशनमा परेको जानकारी दिएका थिए।
‘नोमिनेसनमा त कति पर्छन् कति तर मैले त्यति सम्मानित पुरस्कार पाउँछु भनेर कहिल्यै कल्पनासम्म गरेकी थिइन,’ उर्मिलाले भनिन् ।
उनले नेपालको र त्यो पनि आफू जस्तो सामान्य चेलीले त्यति ठूलो सम्मान पाउनुलाई समग्र मुक्त कमलहरीप्रतिको सम्मान भएको बताइन्।
‘मलाई नेदरल्याण्डमा सम्मान गर्दा राष्ट्रपतिजस्तै गरी गाडीमा लगे र त्यहाँका राजाले सम्मान गरे,’ उर्मिलाले थपिन्, ‘एउटा सामान्य नेपाली चेलीको नाम नेदरल्याण्डमा स्वर्णिम अक्षरले लेखिएको छ । र त्यो समग्र मुक्त कमलहरीको लागि हो ।’
यसले अझैं आफूलाई प्रेरणा थपेको तथा आगामी दिनमा थप सक्रियतापूर्वक लाग्ने उनले बताइन् । नेदरल्यान्ड्सका पूर्वरानी बिट्रिक्स र राजा विलियम एलेक्सन्डरले उर्मिलालाई ‘लउरियट फ्रिडम फ्रम फेयर अवार्ड २०१८’बाट सम्मानित गरेका हुन् ।
उक्त अवार्ड समारोहमा उर्मिलाबारे वृत्तचित्र प्रदर्शन गरिएको उर्मिलाले जानकारी दिइन्। उर्मिलाबारे एक दर्जन वृत्तचित्रसमेत निर्माण गरिएका छन् भने ‘उर्मिला’नामक वृत्तचित्रले गतवर्ष किम्फमा पहिलो पुरस्कार समेत जितेको थियो । उर्मिलाको जीवनीबारे जर्मन भाषामा किताब पनि प्रकाशन भएको छ।
मुक्त कमलहरी बालबालिकाको आजका समस्याउनले १३ हजार बहिनीहरूको उद्धार गरिएको र त्यसमध्ये धेरैले दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरका छात्रावासमा बसेर अध्ययन गरिरहेको बताइन्। दाङमा दुइटा नर्तीको लावाजुनी छात्रावास र बाल जनता माविको छात्रावासमा झण्डै ८०० मुक्त बालिका ‘नानी’हरूले पढिरहेको जानकारी दिइन्।
त्यस्तै, उनले बाँकेमा एउटा, कैलालीमा दुइटा र कञ्चनपुरमा एउटा छात्रावासमा सयौं मुक्त बालिकाहरूले अध्ययन गरिरहेको बताइन्।
‘हाल व्याचलर्सदेखि मास्टर्स गरिरहेका मुक्त कमलहरी नानीहरू छन्, तर अब उनीहरूलाई आत्मनिर्भर हुनका लागि प्राविधिक शिक्षाको खाँचो छ । त्यसका लागि राज्यले निश्चित कोटा छुट्याउन जरुरी छ,’ उर्मिलाले भनिन् ।
त्यस्तै उनले छात्रावासमा उनीहरू १२ महिना बस्ने भए पनि राज्यबाट १० महिनाको मात्रै खाद्यान्न पाउने हुँदा समस्या रहेको गुनासो गरिन्। छात्रावासमा अध्ययनरत बहिनीहरू बिरामी हुँदा समस्या हुने गरेको उनले सुनाइन्। पैसा अभावले उपचार गर्न कठिनाइ हुने गरेको उनले दुखेसो पोखिन्।
‘ न खाद्यान्न पुग्दो छ न त बिरामी पर्दा उपचार गर्न छुट्टै पैसाको व्यवस्था नै छ,’उर्मिलाले थपिन्,‘ अभिभावकविहीन, गरिब मुक्त कमैयाका सन्तानले कसरी त्यसमा खर्च गर्न सक्छ्न्?’ त्यसले गर्दा उनीहरूको पढाई प्रभावित हुने गरेको उनको तर्क छ ।
त्यस्तै, कमलहरी बसेकै समयमा मृत्यु भएका तथा बेपत्ता पारिएका मध्ये ६ जना बहिनीहरूका परिवारले हालसम्म न्याय नपाएको उनले गुनासो गरिन्।
‘मृत्यु भएकाका परिवारलाई उचित क्षतिपूर्ति र बेपत्ता पारिएकाबारे पनि खोजी हुन जरुरी छ,’ उर्मिलाले भनिन् ।