फेसबुकमा कुराकानी गरेको आधारमा करिब नौ महिनाअघि दैलेखका एक युवकले पूर्वी नेपालकी एक युवतीसंग प्रेम सम्बन्ध कायम गरे । सुर्खेतको पिपीरा बस्दै आएका दैलेखका जीवन शाही आफ्नो डिभाईसबाट विभिन्न फेसबुक अकाउण्ट बनाएर चलाउँथे । उनले आफ्ना विभिन्न फेसबुक आईडीको प्रयोग गर्ने क्रममा एउटा आईडीबाट पूर्वी नेपालकी एकजना युवतीसंग च्याटमा कुरा गरेर प्रेममा पार्न सफल भए ।
उनले प्रेम सम्बन्ध मात्र कायम गरेनन्, जोडिएको प्रेम सम्बन्ध र फेसबुक अकाउण्टको दुरुपयोग गरेर ती युवतीबाट रुपैयाँ लिने कार्य गरे । उनले विस्तारै युवतIबाट नगद र अन्य गरि करिब ३ लाख बराबर लिए ।
जीवनले केही महिनाअघि जोडिएको प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्ने आश्वासनमा युवतीलाई सुर्खेत बोलाएका थिए । सुर्खेतको एक होटलमा ती युवतीलाई लिएर गएका उनले दुईजनाबीच भएको यौन सम्बन्धको भिडियो बनाए । त्यसपछि विभिन्न कारण देखाउँदै उनले पूर्वी नेपालकी ति युवतीसंग विवाह गर्न नसक्ने भनेर बताए । केटीले अर्को ठाउँमा विवाह गरिन् । त्यसअघि प्रेम सम्बन्धमा हुँदा बनाइएको उक्त भिडियो सार्वजनिक गरिदिने भनेर धम्काउँदै उनले युवतीबाट समयसमयमा रुपैयाँ असुली रहे ।
‘विगतमा केटीसंग केही सम्बन्ध थियो। त्यसैका आधारमा बल्याकमेलिङ् गर्दै युवतीसंग केही पैसा लिने गरेको रहेछ’, जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक (एसपी) उमाप्रसाद चतुर्वेदीले भने, ‘उसले केटीसंग थप पैँसा माग्दा केटीले छैन भनेपछि उसले युवतीको श्रीमानको च्याटमा भिडियो पठाईदियो ।’
युवतीका अनुसार जीवनले उनीसंग पछिल्लो समय थप २ लाख रुपैयाँ मागेका थिए । उनका नुसार आफूसंग नभएका कारण आफूले रकम दिन नसक्ने बताएपछि जीवनले श्रीमानको फेसबुक च्याटमा शारिरीक सम्बन्ध राखेको भिडियो पठाईदिएका थिए ।
ती युवतीको श्रीमानको फेसबुक च्याटमा भिडियो पुगेको केही दिनमै पिडित युवतीले सुर्खेत आएर न्याय माग्दै प्रहरीमा उजुरी दिएकी थिइन् । सोही दिनको भोलीपल्ट नै प्रहरीले जीवनलाई पक्राउ गरेर अनुसन्धानका लागि हिरासतमा राखेको छ ।
युवती भने आफूलाई उचित न्यायसहित क्षतिपुर्तिका माग गर्दै प्रहरीसमक्ष उजुरी दिएकी छन् । सुर्खेत प्रहरीले सार्वजनिक मुद्दा चलाएर पिडक जीवनको अनुसन्धान गरिरहेको छ ।
विद्युतीय ऐनअन्तर्गत मुद्दा चलाउनपर्नेमा सार्वजनिक मुद्दा !यसरी सामाजिक सञ्जाल फेसबुकको दुरुपयोग गरेर युवतीलाई समस्यामा पारेका जीवनलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले सार्वजनिक ऐनअन्तर्गत मुद्दा दर्ता गरेर अनुसन्धान गरिरहेको छ । विद्युतीय ऐनअन्तर्गत मुद्दा चलाउन लागि महानगरीय प्रहरी परिसर काठमाण्डौँबाट नै निवेदन दिनुपर्ने भन्दै सुर्खेत प्रहरीले सार्वजनिक मुद्दा चलाएको छ ।
‘उसले आफ्नो नामबाट भन्दा अर्कै नामबाट फेसबुक खोलेर गालीगलौज तथा धम्की दिने गरेको छ ।’ प्रहरी उपरीक्षक चतुर्वेदीले भने –‘पिडितको जाहेरीका आधारमा सोही विषय समावेश गरेर सार्वजनिक मुद्दा चलाइएको छ, पिडितले चाहेमा विद्युतीय अपराधसम्बन्धी मुद्दा चलाउन सकिन्छ ।’
प्रहरीका अनुसार पीडित युवतीले पनि युवकले आफूसंग अहिलेसम्म लिएको रकम र बाँकी आफूसंग मागेको रकमको समेत क्षतिपूर्ति दिलाईदिन माग गरेकी छन् । उनले क्षतिपुर्ति तथा न्याय दिलाईदिएमा विद्युतीय अपराधसम्बन्धी मुद्दासम्म नजाने मनस्थितिमा रहेको प्रहरीको भनाई छ । उनले आफूलाई भोलीका दिनमा आईपर्ने पारिवारिक समस्यालाई सोचेर त्यहाँसम्म जान नचाहेको हुनसक्ने प्रहरीको भनाई छ ।
यता सार्वजनिक मुद्दा चलाएर अनुसन्धान भैरहेको भएपनि महानगरीय प्रहरी परिसरमा गएर पीडितले चाहेमा विद्युतीय अपराधसम्बन्धी मुद्दा चलाएर पनि अनुसन्धान गर्न सकिने सुर्खेतका एकजना कानून व्यवसायी दुर्गा सापकोटाले बताए ।
‘स्पष्ट तरिकाले कानूनी बाटो अपनाउनका लागि त यो केशमा विद्युतीय अपराधसम्बन्धी मुद्दा नै चलाउनुपर्छ’, कानून व्यवसायी सापकोटाले भने, ‘सार्वजनिक ऐन भनेको खुकुलो तथा फराकिलो ऐनका रुपमा लिईने हुँदा यसबाट प्राय सबै प्रकारको न्याय दिलाउन सकिन्छ । तर, यो केशमा भने पिडित युवतीले चाहेमा यता सार्वजनिक मुद्दा चल्दै गर्दा उता काठमाण्डौँ गएर उजुरी दिएमा विद्युतीय ऐनअन्तर्गत मुद्दा चलाउन सकिन्छ ।’