ट्रयाक्टर दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ भने थप १४ जना घाइते भएका छन्।
दुर्घटनामा परि दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १० नयाँ गाउँ निवासी ४० वर्षीय गणेश भण्डारी र तुलसीपुर १२ कौवापुर निवासी ३० वर्षीय चुडामणि चौधरी रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रमुख एवं डिएसपी सविनलाल श्रेष्ठले सेतोपाटीलाई फोनमा जानकारी दिए। भण्डारीको घटनास्थलमै र चौधरीको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। प्रहरीका अनुसार मृतक चौधरी ट्रयाक्टर का सहचालक हुन्।
उक्त दुर्घटनामा परि दाङका थप सात जना मजदूर घाइते भएका छन् भने अन्य सात जना सबै घाइते रुकुम पूर्वका हुन्। जिल्ला अस्पताल रुकुम पश्चिमबाट हवल्दार नारायणप्रसाद पौडेलले दिएको जानकारी अनुसार ट्रयाक्टर दुर्घटनाका घाइतेमध्ये दाङ तुलसीपुर १० का ५३ वर्षीय दुर्गाबहादुर खत्री, ५० वर्षीय मन्ढु चौधरी, ३६ वर्षीय मानबहादुर चौधरी, तुलसीपुर १० निवासी २८ वर्षीय टोपबहादुर बस्नेत, ६० बर्षीय महेन्द्रकुमार आचार्य, २५ वर्षीय श्याम चौधरी र दाङको लमही नगरपालिका वडा नं. २ निवासी ३० वर्षीय हेमराज ढकाल शर्माको उपचार भइरहेको छ।
यो खबर तयार पार्दै गर्दा घाइते १४ जना सबैको जिल्ला अस्पताल रुकुम पश्चिममा उपचार भइरहेको र त्यसमध्ये सात जना भने रुकुम पूर्वका रहेको प्रहरी हवल्दार पौडेलले जानकारी दिएका छन्। उक्त दुर्घटनामा परि रुकुम पूर्व भूमे गाउँपालिका वडा नं. १ निवासी १३ वर्षीया रविना बुढा, १६ वर्षीया सविना नेपाली, १९ वर्षीया सतमाया पुन, १७ वर्षीया चाहाना पुन, २१ वर्षीया बमकुमारी पुन र २७ वर्षीया कमला गुरुङको जिल्ला अस्पताल रुकुम पश्चिममा उपचार भइरहेको हवल्दार पौडेलले बताए।
उनका अनुसार घाइतेमध्ये दाङका दुई जना र रुकुम पर्वका एकजनालाई अलि बढी चोट लागेको छ। जसमा दाङ तुलसीपुर १२ का २८ वर्षीय टोपबहादुर बस्नेत, लमही नगरपालिका वडा नं. २ निवासी ३० वर्षीय गेहराज ढकाल शर्मा र रुकुम पूर्वको भूमे गाउँपालिका वडा नं. १ निवासी १९ वर्षीय सतमाया पुनको अवस्था गम्भीर रहेको जानकारी दिइएको छ। उनीहरू तीन जनालाई टाउकोमा चोट रहेको उनले बताए। तर, सबै खतरा मुक्त रहेको प्रहरी हवल्दार पौडेल जानकारी दिए।
दुर्घटनाका घाइते र मृतक सबैमध्ये पहाडी लोकमार्ग निर्माणमा काम गर्ने मजदूर रहेको प्रहरीले जानकारी दिएको छ। प्रदेश नं. ५ अन्तरगतको रुकुम पूर्वका जिल्ला प्रहरी प्रमुख एवं डिएसपी सविनलाल श्रेष्ठका अनुसार बाटो निर्माणको काम सकेर शुक्रबार साँझ साढे ७ बजेतिर दाङतर्फ फर्कंदै गरेका मजदूर सवार रा १ त २२६१ नम्वरको ट्रयाक्टर दुर्घटनामा परेको थियो।
जिल्लाको भूमे गाउँपालिका वडा नं. १ पञ्चासेमा ट्रयाक्टरको ट्रलि घोप्टिदा उक्त दुर्घटना भएको थियो। यो खबर तयार पार्दासम्म मृतक भण्डारीको शव रुकुम पूर्वमै रहेको छ भने अर्का मृतक चौधरीको शव भने रुकुम पश्चिम स्थित जिल्ला अस्पतालमा रहेको प्रहरीले जानकारी दिएको छ। दुर्घटना लगत्तै चालक फरार रहेको भए पनि घाइतेको बयानका आधारमा तीव्र गतिमा रहेको ट्रयाक्टरको ट्रलि उफ्रिएर घोप्टिदा दुर्घटना भएको प्रहरीले बताएको छ।