रूपन्देहीको तिलोत्तमा मणिग्राममा बुधबार साँझ गोली चलेको छ। तिलोत्तमा नगरपालिका वडा नं. ५ शान्ति नमुना मावि नजिकै गोली चलेको ईलाका प्रहरी कार्यालय मंगलापुरले जनाएको छ।
अज्ञात समूहको गोली प्रहारबाट ज्याला मजदुरी गर्ने मर्चवारीमाई गाउँपालिका ४ का ४० वर्षीय रामकेश धवल गम्भीर घाइते भएको प्रहरी नायव निरीक्षक युवराज पाण्डेले सेतोपाटीलाई जानकारी दिए।
गम्भीर घाईते धवलको मणिग्रामस्थित क्रिमसम अस्पतालमा उपचार हुन नसकेपछि भैरहवा मेडिकल कलेज रिफर गरिएको पाण्डेले जानकारी दिए।
दिनभरी स्थानीय प्रकाश पाण्डेको घर ढलान गरी साँझ रोटी पकाउँदै गरेको अवस्थामा दुई वटा मोटरसाइकलमा आएका तीन जनाको समूहले उनको पिठ्यूँमा एक राउण्ड गोली प्रहार गरेका थिए।
गोली हान्ने समूहको पहिचान नभए पनि खोजी भइरहेको प्रहरीले जनाएको छ।
सम्साझै सामान्य व्यक्तिमाथि गोली प्रहार भएपछि सर्वसाधारण त्रसित भएका छन्। घटनापछि त्यस क्षेत्रमा व्यापक प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।