नेपालका कामीरिता शेर्पाले सगरमाथा आरोहणमा नयाँ रेकर्ड बनाएका छन्। उनले विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा २२ पटक चढ्ने क्रममा बुधबार बिहान पाइला टेकेका हुन्।
पर्यटन संस्कृति तथा नागरिक उड्ययन मन्त्रालयका अधिकारीले बुधबार बिहान साढे ८ बजे शेर्पा सगरमाथाको चुचुरोमा पुगेको जनाएको छ।
आप्पा शेर्पा र फुर्वा टासी शेर्पाले २१ पटक सगरमाथा आरोहण गरेका छन्।
४८ वर्षीय कामिरिता सोलुखुम्बुको थामे गाउँमा जन्मिएका हुन्। उनी सन् १९९४ मा पहिलोपटक सगरमाथाको चुचुरोमा पुगेका थिए।
आधार शिविर जानुअघि काठमाडौंमा सेतोपाटीसँग कुरा गर्दै शेर्पाले २५ पटकसम्म सगरमाथा चढ्ने योजना रहेको बताएका थिए।