दाङमा ट्रकले मोटरसाइलकलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ।
दुर्घटनामा मोटरसाइकल चालक घोराही उपमहानगरपालिका १२ हापुर निवासी चालक २८ वर्षीय भिमबहादुर पुन र पछाडि सवार रोल्पा नगरपालिका वडा नं. ९ निवासी ४० वर्षीय बुद्धिबल घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ।
दुर्घटनाका गम्भीर घाइते दुबै जनालाई लमही अस्पतालतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले बताएको छ।
घोराहीबाट लमहीतर्फ जाँदै गरेको लु १ ख ५६३२ नम्बरको ट्रकले घोराहीतर्फ आउँदै गरेको लु ३० प ९७२८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुबै जनाको मृत्यु भएको प्रहरी जानकारी दिएको छ।
घोराही–लमही सडक खण्डको लमही नगरपालिका ६ कुलमोड नजिकै मंगलबार राति साढे ११ बजेतिर ट्रकले मोटरसाइकललाई ठक्कर दिएको थियो।
तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीले बताएको छ। ट्रक र मोटरसाइकल दुबै तीव्र गतिमा रहेको हुँदा मोडमा उक्त दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ। ट्रकसहित चालकलाई वडा प्रहरी कार्यालय लमहीले नियन्त्रणमा लिएको प्रमुख सुरज खड्काले जानकारी दिए।