जिल्ला समन्वय समिति दाङले बबई गाउँपालिका वडा नम्बर ७ को कालितारा र ओदालेमा भएको अवैध ढुंगा उत्खननको लागि छानबिन गर्न समिति गठन भएको छ।
जिल्ला समन्वय समिति दाङको सोमबार बसेको बैठकले छानबिनको लागि उपप्रमुख श्रीधर शर्मा पौडेलको संयोजकत्वमा चार सदस्य समिति गठन गरेको हो।
समितिको सदस्यमा जिल्ला समन्वय समितिका सदस्य जक्तबहादुर बस्नेत, सुभद्रा भण्डारी र इञ्जिनियर बासुदेव भण्डारी रहेका छन्।
समितिले एक साताभित्र आफ्नो प्रतिवेदन बुझाउनु पर्ने बताइएको छ। त्यही प्रतिवेदनका आधारमा थप कारवाही प्रक्रिया थाल्ने जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीले सेतोपाटीलाई बताए।
बैकठले जिल्ला समन्वय समितिले ठेक्का लगाएका स्थानदेखि अन्यत्र ठाउँबाट अवैध रूपमा नदीजन्य पदार्थ (ढुंगा, गिट्टी र बालुवा) उत्खनन गरी जिल्ला समन्वय समितिको रसिदबाट वैधानिकता दिई राजस्व असुल गरिएकोमा उक्त अवैधानिक कार्यलाई पूर्ण रूपमा बन्द गर्न सम्बन्धित निर्माण व्यवसायी ठेकेदारलाई सचेत गराएको छ।
बैठकले पटक/ पटक निर्देशन दिँदा समेत पूर्ण रूपमा बन्द नभएकोले कानून बमोजिम कारवाही र ठेक्का समेत रद्द गर्ने बैठकले निर्णय गरेको छ।
त्यसैगरी, बैकठले जिल्लामा सञ्चालित क्रसर उद्योगहरूको अनुगमन गरिने र नियमविपरीत सञ्चालन भएको क्रसर उद्योगलाई बन्द गरिने त्यो कार्यमा सघाउन सम्पूर्ण जनप्रतिनिधि र नागरिकमा अनुरोध गरेको छ। बैठकले जिल्ला समन्वय समितिका कार्यरत केही कर्मचारीलाई काजमा स्थानीय तहमा पठाउने लगायतका निर्णयहरू गरेको जिल्ला समन्वय समितिका समन्वय अधिकारी कृष्णप्रसाद गौतमले बताए।
यसअघि पनि जिल्ला समन्वय समितिले कर्मचारीलाई स्थानीय तहमा पठाएको थियो। जिल्ला समन्वय समितिमा अझै पनि दरबन्दी भन्दा धेरै कर्मचारी कार्यरत छन्। ति कर्मचारीलाई पनि छिट्टै पठाउने जिल्ला समन्वय समिति दाङले जनाएको छ।