स्थानीय उपभोक्ताको आँखा छलेर वर्षौ पुरानो र फुटेको खानेपानी पाइप बिच्छाएको खानेपानी संस्थान बुटवलले अन्ततः बिच्छाएको पाइप निकालेको छ ।
बुटवल उपमहानगरपालिका वडा नं. ८ शुख्खानगरदेखि वडा नं. ७ दिपनगर लाइनसम्म विस्तार गर्दै गरेको उक्त खानेपानी पाइप चारैतिर प्वाल परेको भेटिएपछि स्थानीय बासिन्दाले नबिच्छाउन आग्रह गर्दा अटेर गरेपछि सेतोपाटीलाई खबर गरेका थिए ।
फुटेका पाइप राखिएकोबारे प्रतिक्रिया लिन खोज्दा बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी सोही स्थानमा पुगेर पाइप हटाउन निर्देशन दिएका हुन्।
‘शनिबार पाइप बिच्छाउँदै गर्दा फुटेको देखेपछि नबिच्छाउन आग्रह गर्दा केही हुँदैन पछि वल्डिङ गरेर खानेपानी सप्लाइ गर्ने हो भन्दै निकाल्न अटेर गरेका थिए। अहिले बल्ल मिडिया र जनप्रतिनिधि आएपछि फुटेका पाइप निकालिए,’ स्थानीय बालकृष्ण ज्ञवालीले भने ।
वर्षौदेखि खानेपानीको चरम अभाव झेलिरहेका स्थानीय उपभोक्ताको समस्या समाधान गर्न उपमहानगरपालिकाको पहलमा खानेपानी विस्तार गर्न सुरू गरिएको थियो।
खानेपानी पाइपको लागि खानेपानी संस्थानको ३८ लाख र पाइप बिच्छाउनको लागि जमिन खन्ने, फिटिङ गर्ने र पुर्ने कार्यका लागि बुटवल उपमहानगरपालिकाको १५ लाख रुपैयाँको लागतमा ११ सयमिटर लम्बाइको पाइप विस्तार कार्य सुरू गरिएको थियो।
तर, खानेपानीको समस्या भोग्दै आएका उपभोक्ताको भावनामाथि खेलवाड गर्दै पुराना र प्वाल परेका पाइप बिच्छाएको पाइएपछि उपमहानगरपालिकाले तत्काल अर्को पाइप फेर्न लगाएको हो।
‘खानेपानी संस्थानले गोदाममा ११ सय मिटर पाइप रहेको बताएपछि नयाँ पाइप होला भन्ने विश्वासमा बिच्छाउन लगाइयो पुरानो ल्याएको भेटिएपछि ति पाइप हटाएर अर्को पाइप बिच्छाउन निर्देशन दिइएको छ,’ बुटवल उपमहानगरपालिका प्रमुख सुवेदीले भने।
बुटवल वडा नम्बर ७ का अध्यक्ष कमल प्रताप थापाले खानेपानीको समस्या भोग्दै आएका वडाबासीलाई राहत होला भनी खानेपानी विस्तार गर्न लागिएकोमा संस्थानले पुराना पाइप बिच्छाएको देख्दा आहात पुगेको बताए।
खानेपानी संस्थानका सिनियर प्लम्बर टिकाराम रानाले फुटेका पाइप बिच्छाउनु गल्ती भएको स्वीकारे र अब यस्तो गल्ती नदोहोर्याने बताए।
बुटवल उपमहानगरपालिकामा खानेपानी सेवा उपलब्ध गराउँदै आएको संस्थानले समयमा खानेपानी सेवा विस्तार नगर्दा र बिग्रिएका, फुटेका पाइप मर्मत नगर्दा हरेक वर्ष बुटवलबासीले खानेपानीको समस्या भोग्दै आएका छन्।
दैनिक झण्डै ३ करोड लिटर खानेपानीको माग भइरहेको बुटवलमा संस्थानले बल्लतल्ल डेढ करोड लिटर खानेपानी उपलब्ध गराउँदै आएको छ ।
बुटवलका अन्य वडा भन्दा वडा नं. ७ र ८ मा खानेपानीको चर्को समस्या रहेको भन्दै सन् २०१० मा एशियाली विकास बैंक (एडीबी) को ऋण अनुदानमा मझौला तथा एकीकृत सहरी वातावरणीय आयोजना अन्तर्गत खानेपानी आयोजना निर्माणको सम्झौता गरिए पनि विभिन्न कारण उक्त आयोजना सञ्चालन हुन सकेन ।
दुइटा वडामा रहेका झण्डै ६ हजार बढी खानेपानीका उपभोक्ता रहेकोमा उक्त आयोजनाबाट ३ हजार उपभोक्ताले खानेपानी उपभोग गर्ने बुटवल उपमहानगरपालिकाले अपेक्षा गरेको थियो ।
तत्कालीन बुटवल नगरपालिकाले २२ करोड ३७ लाख ७० हजार रुपैयाँ लागतमा ऋण सम्झौता गरेको उक्त आयोजना असफल बनाउन सबै उपभोक्तालाई १ वर्ष भित्रमा पर्याप्त खानेपानी उपलब्ध गराउने बताएको संस्थानले हालसम्म पाइप विस्तार समेत गर्न सकेको छैन ।
खानेपानी उपलब्ध गराएवापत उपभोक्ताबाट मासिक महसुल उठाउँदै आएको संस्थानले झुम्सा खानेपानी आयोजना पुरा भएपछि खानेपानीको माग पुरा गर्न सकिने दाबी गर्दै आएको छ ।
तर २०६७ सालदेखि सुरू भएको झुम्सा खानेपानी आयोजना अलपत्र परेको छ । सुरूमै पाइप खरिदमा घोटाला भएको भन्दै रोकिएको आयोजना दुईवर्ष पहिले तिनाउमा आएको बाढीले खानेपानीको मुहान र इन्टेक बगाएपछि अहिले अन्यौलमै रहेको छ ।