गाउँमा पक्राउ गरी जिल्ला सदरमुकाम लैजाँदै गरेका आफ्ना नेतालाई विप्लव माओवादी कार्यकर्ताले प्रहरीलाई आक्रमण गरी भगाएका छन्।
आइतबार नेपाल बन्दको क्रममा पक्राउ परेका नेत्रविक्रम चन्द विप्लव नेतृत्वका नेकपा डोल्पाका कार्यकर्तालाई जिल्ला सदरमुकाम दुनै लैजाँदै गरेका बेलाबीच बाटोमै प्रहरीमाथि कार्यकर्ताले आक्रमण गरी सोमबार बिहान पक्राउ परेका कार्यकर्तालाई भगाएका हुन्।
डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका अन्तर्गत पर्ने त्रिपुराकोट बगर बजारबाट डोल्पा मुड्केचुला गाउँपालिका–९ घर भएका उक्त दलका जिल्ला सदस्य सागर शाहीलाई त्रिपुराकोट प्रहरीले पक्राउ गरेर राखेको थियो।
शाहीलाई जिल्ला प्रहरी कार्यालय दुनैतर्फ लैजाँदै गर्दा सोमबार बिहान ठूलीभेरी नगरपालिका–९ अन्तर्गत पर्ने भेत्तिडाँडोमा उक्त दलका जिल्ला इञ्चार्ज अजित विष्टको नेतृत्वमा आएको पाँच जनाको समूहले प्रहरी हवल्दार धनसिं कठायत र प्रज जयलाल बस्नेतमाथि आक्रमण गरी छुटाएर लगेको डोल्पाका प्रहरी प्रमुख हरिप्रसाद शर्माले जानकारी दिए।
उनका अनुसार आक्रमणकारीलाई पक्राउ गर्न त्रिपुराकोट जुफाल, कालागौडा र दुनैबाट ३५ प्रहरी परिचालन गरिएको छ।