प्रदेश ४ को स्तरीय सुरक्षा गोष्ठीको उद्घाटन गृहमन्त्री रामबहादुर थापाले गरेका छन्।
आइतबार पोखरामा आयोजित उक्त कार्यक्रममा जिल्लाको सुरक्षा व्यवस्थाबारे जानकारी दिने क्रममा ११ जिल्लाका सुरक्षा प्रमुखहरूले विप्लव माओवादी नै सुरक्षाको प्रमुख चुनौती भएको बताएका छन्।
गोष्ठीमा देश संघीयतामा गएसँगै केन्द्र, प्रदेश र स्थानीय तहको सुरक्षामा कसरी एक रुपता ल्याउने?, सिण्डिकेट अन्त्यपछिको व्यवस्थापन कसरी गर्ने?, मौसमी सुरक्षा व्यवस्था र विपद् व्यवस्थापन लगायतका विषयमा छलफल भएको छ।
त्यसैगरी, विभिन्न तहका धम्की गुण्डागर्दी, लागूऔषधलाई कसरी नियन्त्रणमा लिने? ,राजनीतिक आवरणमा गरिने क्रियाकलापलाई कसरी निष्क्रिय पार्ने? लगायतका विषयमा समेत गोष्ठीमा छलफल भएको छ।
कार्यक्रमा सुरक्षा गृह सचिव प्रेम कुमार राई, प्रदेश ४ का आन्तरिक मामिला तथा कानून मन्त्री हरिबहादुर चुमान, प्रहरी महानिर्देशक सर्वेन्द्र खनाल, सशस्त्र प्रहरी महानिर्देशक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका दीलिप राज रेग्मी, प्रदेश ४ का प्रदेश मुख्य सचिव लक्ष्मण अर्याल लगायतको सहभागिता रहेको छ।
गोष्ठीमा प्रदेश ४ का ११ जिल्लाका सुरक्षा निकायका प्रमुख र प्रमुख जिल्ला अधिकारी गरी करिब १ सय जनाको सहभागिता रहेको छ।