सार्वजनिक अपराधको मुद्दामा पक्राउ परेका एक युवकसँग सरकारी कर्मचारीले घूस लिएका छन् ।
सार्वजनिक अपराधको मुद्दा छिनोफानोका लागि छिट्टै जिल्ला प्रशासन कार्यालयमा पठाई दिन्छु भन्दै सरकारी वकिल कार्यालय रुपन्देहीका नायव सुब्बा नारायण पौडेलले घूस लिएको पीडितले बताएका छन्।
गत वैशाख १९ गते प्रहरीकै गाडीमा ढुंगा प्रहार गरेपछि जिल्ला प्रहरी कार्यालय रुपन्देहीले अजय रणपाल नेपाली नामका युवकलाई पक्राउ गरी सार्वजनिक अपराध ऐन अन्तरगत मुद्दा दर्ता गरेको थियो ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ५ का स्थानीय बासिन्दा अजयका बुवा रुप बहादुर नेपालीले छोराको मुद्दा छिटो प्रशासन कार्यालय पठाईदिन्छु भन्दै सरकारी वकिल कार्यालयका नायव सुव्वा नारायण पौडेलले घूस लिएको बताए ।
‘कहिले पेट्रोल खर्च त कहिले खाजा खर्च भन्दै पन्ध्र हजार मागेका थिए तर मसँग चार हजार मात्र रहेकोले त्यतिमात्रै दिए’, अजयका बावु नेपालीले बताए ।
अजयकी आमा सुमन नेपाली रुपन्देहीको तिलोत्तमा नगरपालिकाकी दलित महिला सदस्य हुन् । आफ्नो छोरा अजयसँगै अरु युवाहरू समेत पक्राउ परेकाहरूको अघिल्लो दिन नै जिल्ला प्रशासन कार्यालयमा पेश भई छुटेको तर आफूले पैसा नदिएका कारण एक दिनपछि मात्र पेश गरेको समेत उनले बताइन्। अजयसँगै अन्य युवा भैरहवाबाट पक्राउ परेका थिए ।
‘मैले पैसा दिन नसक्दा एक दिन ढिला भयो। शुक्रबार पनि पैसा नदिएको भए आइतबारसम्म छोराको हिरासत बास हुन्थ्यो त्यसैले पैसा दिए,’ अजयका बाबुले थपे।
घूस लिएको आरोप लागेका नारायण पौडेलले आफूले पैसा लिएको स्वीकार गरेका छन् ।
‘जिल्ला प्रशासन कार्यालयमा मुद्दा छिनोफानोको लागि छिटो पठाई दिने भन्दै अजय रणपाल नेपालीसँग ४ हजार रुपैयाँ लिनुभएछ नी ?’ भन्ने प्रश्नमा पौडेलले ‘हो पैसा लिएको हुँ स्वेच्छाले दिनुभएको हो त्यता गएर के भन्नुभयो कुन्नि’ भने ।
पटक पटक विवादमा मुछिने गरेका पौडेलले यसअघि पनि बुटवलमा पक्राउ परेका नक्कली सुन व्यापारीसँग मुद्दा मिलाई दिन्छु भन्दै २५ लाख घूस मागेको भन्ने गुनासो आएको थियो ।
जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख जिल्ला न्यायाधिवक्ता कोशहरी निरौलाले पैसा मागेको भनिएका पौडेल तालिममा रहेको र कार्यालय आएपछि सोधपुछ गरिने बताए ।
उनले कार्यालयमा सेवाग्राहीको अत्यन्त भीडभाड हुने र थोरै जनशक्तिले धेरै काम गर्नु परेको भन्दै पौडेलले गरेको कमजोरी ढाक्ने प्रयत्न गरे ।
‘एकपटक कार्यालयमा आएर हेर्ने गर्नुहोला कति भीडभाड हुन्छ । अलि काम गर्न जानेको व्यक्ति उनै हुन् उनी भएनन् भने कार्यालयमा काम गर्ने अरु व्यक्ति हुँदैनन्’, निरौलाले भने।